कथा: गल्ति


रातीको ३ बजिरहेको छ, हस्पिटलको प्रशुती वार्ड बाहिर विनोद निदाइरहेको छ। भित्र रमा पानी प्यास लागेर ब्याकुल भएकी छे। एत्तिकैमा उसले विनोदलाई उसको मोबाइलमा कल दिन्छे। विनोद झसंग बिउँझियो र कसको फोन रहेछ भनेर हेर्न हतपत मोबाइल निकाल्न खोज्दै थियो। विनोद सधै मोबाइल आफ्नो प्यान्टको गोजीमा राख्ने गर्छ। अस्पतालमा मोबाइल बज्न हुन्न तर जिन्स प्यान्ट टाइट भएको कारणले गर्दा मोबाइल निकाल्न सकेन र मोबाइल बजिरह्यो। उ फेरी मोबाइल निकाल्न जुरुक्क उठ्यो, यसबेला चाहिँ उसको साँचो भुइँमा खसेर आवाज निकाल्यो। रातीको समयमा सानो सानो आवाज पनि धेरै ठुलो सुनिने भएकोले त्यो वार्डको नजिकै रहेको रिसेप्सनकी तरुनी जो निद्रामा झुलिरहेकी थिई उ पनि एक राउण्ड झसंग भइ।

बल्लतल्ल उसले आफ्नो फोन निकाल्यो। रमाले बोलाएकी रहिछ। उ  भित्र गयो अनि रमालाई पानी पिउन दिएर बेडको साइडमा बसेर उसको टाउको सुम्सुम्याउँदै एकछिन उसलाई हेर्यो। रमापनि आनन्द मानेर विनोदको अर्को हात सुम्सुम्याउँदै गर्छे। एकैछिनपछि रमा निदाउँछे र विनोद फेरी अघि सुतेको ठाउँमा आएर बस्छ।
“खै त निन्द्रा पनि लाग्दैन। के गर्ने होला अब।“ भन्दै मोबाइल झिक्छ अनि टेम्पल रन भन्ने गेम खेल्न थाल्छ। एकछिन मै उसलाई झर्को लाग्छ अनि फेरी टाउकोलाई भित्तामा अडेस लगाएर निदाउने प्रयास गर्छ। निद्रा नलागेर उसको दिमागमा अनेकौं तर्कनाहरुले दिमागमा ताण्डवनृत्य गर्छन्।

... “आज डाक्टरकोमा जान पर्छ है, आज भेट्ने भनेको छ” विनोद फोनमा रमालाई भन्दै छ। “ल म आउँछु टाइममै, उतै भेटौंला नी त है, मेरो क्लास लिनु छ के अहिले, बाइ” भनेर रमा झ्याप्प फोन काट्छे। दुवैजना तोकिएको समयमा डाक्टरको क्लिनिक अगाडि भेट्छन् र संगै डाक्टरलाई भेट्नको लागि उनको कोठा बाहिर राखिएको कुर्सिमा बस्छन्। डाक्टरकी नर्स आएर उनीहरुलाई बोलाउँछन् र दुवै जना भित्र जान्छन्।

एकछिनको हाइ, हेलो पछि डाक्टरले सोध्छन् “के साँच्चै क्युरेट गर्ने नै हो त?” रमा र विनोद टाउको हल्लाउँछन्। ल ठिक छ, उसो भए तपाईंको चेक-उप गर्न पर्छ भनेर भिडियो-एक्सरे गर्न भनेर रमालाई त्यहाँ रहेको बेडमा पल्टिन भनेर उनको तल्लो पेटमा मेसिनलाई यता उता सार्छन्। त्यहाँ भित्र के भइरहेको छ भनेर उता रहेको स्क्रिनमा देखिने हुन्छ। विनोद पछिल्तिर उभिएर रमाको हात समातिरहेको छ।
यत्तिकैमा गोलो आकारको केहि चलिरहेको देख्छन् दुवैजनाले। उनीहरु दुवैको मन भरिएर आउँछ।

डाक्टरले ल हुन्छ अब माइनर अप्रेसन गर्न पर्छ भन्छन् अनि एकछिन् कोठाबाट बाहिर निस्किन्छन्। उता विनोद र रमा भित्र भित्र आत्तिएका छन्।

“त्यो सानो गोलो गोलो टाउको हो?” रमा विनोदलाई सोध्छे। “मलाई पनि त्यस्तै लाग्यो” विनोदले यति भनेपछि कोठा एकछिन शान्त हुन्छ।  

डाक्टर एकछिनमा भित्र छिर्छन् अनि विनोदलाई बाहिर जान भन्छन्। “होइन डाक्टरसाब, हामीलाई सोच्ने समय चाहिन्छ अब! आज भिडियो एक्सरे गरेपछी हाम्रो मनमा थुप्रै बिचार आएको छ” विनोद भन्छ। यति भन्दै अर्को भेट्ने समय मिलाएर दुवै जना डाक्टरसँग बिदा लिन्छन्।

“मलाई त क्युरेट गर्न मन नै लागेन” विनोद भन्छ।
“मलाई पनि त कस्तो कस्तो लाग्यो, हामीले एउटा निर्दोषको हत्या गर्न लाग्यौं जस्तो मनमा फिल भयो।“
“मलाई पनि कस्तो अन-इजी भएर, मुटु नै ढुकढुक भयो।“
“बच्चा पाए हुन्न र? जे जसो गरेर भएपनि गरौँला नी”
“तिमी चिन्ता नगर, अब हाम्रो बच्चालाई केहि हुँदैन।“
विनोदको कुरा सुनेर रमा उसलाई अंकमाल गर्छे र दुवै जना फेरी छुट्टिन्छन्। ...

संगै रहेको प्रशुतीवार्डबाट आएको बच्चाको रुवाइले विनोदलाई झसंग पर्छ अनि उ फेरी जाग्छ। पानी तिर्खा लागेजस्तो हुन्छ उसलाई अनि बोत्तलको पानी पिउँछ। “अब चाहिँ ती कुराहरु दिमागमा न आई निद्रा लाग्नु नी मलाई पटक्कै सम्झिन मन छैन, कस्तो निदाउन खोज्छु झसंग पार्छ यो रटनाले पनि” भन्दै फेरी सिटमै पल्टिन्छ। सम्झिन मन छैन भनेर कहाँ हुन्छ र, फेरी पहिलेका कुरा उसको दिमागमा आई हाल्छन् 

...“मेरो महिनावारी रोकियो नी” रमा उताबाट विनोदलाई फोनमा भन्छे।
“होइन होला, अझै समय बाँकी छ की ...” यता विनोद आतिन्छ।
“डेड महिना बितिसक्यो, मलाई त कस्तो डर लागिरहेको छ”
दुवै जना एकछिन मौन हुन्छन्।
“ल भेटेर कुरा गरौँ न त” एकैछिन् पछि विनोद बोल्छ।
दुवैजनाले एउटा कफी पसलमा भेट्ने सल्लाह गरेर फोन राख्छन्।

साँच्चै हो र?” विनोद अतालिदै सोध्छ
“म किन झुटो बोल्छु र? मलाई त कस्तो डर लागिरहेको छ! पढाई पनि सकिएको छैन, न उमेर नै भएको छ, न बिहे नै भएको छ, के गर्ने हो? मलाई हिजो देखि निद्रा नै लागेको छैन। डर त्यस्तै लागेको छ।”
विनोद रमाको हात समातेर भन्छ, “मेरोपनि त सातोपुत्लो नै उड्यो। तर आत्तिएर केहि हुदैन। धेरै चिन्ता नगर। डाक्टरसँग अप्वाइन्टमेन्ट लिउँ न त हुन्न।”

रमाको हात पसिनाले भिजिसकेको थियो, मुटुपनि थरथर गर्दै थियो। दुवैजना डाक्टरकोमा जान्छन्। एकैछिनको चेकअप पछि डाक्टरले पनि, “हो गर्व रहेको छ, तपाईंहरु सरसल्लाह गर्नुहोस् अनि त्यसै अनुसार गरौंला” भनेर अर्को भेट्ने दिन तोकेर दिन्छन्।
रमा र विनोद कफी पसल जान्छन्। उनीहरु के गर्ने हो अब भनेर एकदमै सोचमा पर्छन्।

“बच्चा पाउँदा के हुन्छ होला है?” रमा विनोदको आँखामा हेर्दै गम्भीर भएर सोध्छे। दुवै जना शान्त हुन्छन्। बडो गम्भीरताका साथ दुवैजना सोचमा डुब्छन्।
“म बल्ल ब्याचलर्स पढ्दै छु, तिमीलाई र बच्चालाई कसरी पाल्न सक्छु र? त्यहिँ पनि बल्ल उमेर पनि २३ त भयो नी मेरो। काम पनि गर्न पर्यो, त्यो गर्दा पढाईलाई समस्या पर्छ फेरी” विनोद आफ्नो मनको कुरा राख्छ।

“नेपालसम्म कुरा पुग्ने होला, बुवाआमाको पनि बेज्जत नै त हुँदो हो फेरी उहाँहरुलाई त त्यहिँ समाजमा बस्न छ। मलाई पनि त पढाईसक्न मन छ नी। त्यहिँ पढ्न भनेर त यहाँ विदेश आइयो।” रमा भुइँमा हेर्दै बोल्छे।

एकैछिन् कफी पिएर फेरी दुवैजना छुट्टिन्छन्। रमा केहि नबोली आँखाभरि आँसुलिएर त्यहाँ बाट कुद्दै भाग्छे, विनोद हेरेको हेर्यै हुन्छ” ...

यो सम्झनाले विनोदको आँखाबाट पनि आँसु झर्छ अनि उ फेरी कल्पनाबाट यथार्थ तिर आइपुग्छ। अगाडि एउटी आइमाई भुइँ सफा गर्दै हुन्छे। उ फोहोर भुइँ सफा भएको हेर्दै बस्छ, एकैछिनमा ती महिलाले त्यो पाटो सफा गरेर सक्छिन् अनि जब ऊनी अर्को दिशातिर लाग्छिन् तब विनोद कफी मेशिन देख्छ र त्यस तर्फ लाग्छ।

कफी मेसिनमा साठी सेन्ट हालेर एक कप कफी लिन्छ र फेरी अघि बसेकै ठाउँमा आएर फेरी बस्छ। मोबाइलमा समय हेर्छ, बिहानको सवा-पाँच बज्दै हुन्छ। कफीको कप प्लास्टिकको हुन्छ अनि त्यो कपलाई साइडमा कप-बोत्तल राख्न मिल्ने दुलोमा राख्छ। उसलाई हस्पिटलको गन्ध सानैदेखि मन नपर्ने अनि गन्ध नाकमा एक्कासी परेकोले हातले एकछिन नाक थुन्छ।

एकजना महिलालाई व्यथा लागेको रैछ क्यार बेस्मारी कराउदै हुन्छे, उसलाई अब मुस्किल पर्छ नाक समाउने की कान भनेर। एकछिन् को त्यो अन्योल पछि फेरी विनोद कल्पनामा हराउँछ ...

...“हुन्न के, यस्तो गर्न हुन्न”
“केहि हुन्न, मलाई बर्षमा चार पटक मात्र गर्भ रहन्छ रे के!”
“तर पनि, असुरक्षित गर्न पनि त हुन्न नी”
“के होला र” भन्दै रमा विनोदलाई आफु तिर तान्छे!....

विनोद झसंग हुन्छ। उसलाई बाबु हुन मन नै हुँदैन भित्र-भित्र। उसको भविष्यको धेरै चाहना हुन्छ, उसमा धेरै पढेर मेहेनत गरेर राम्रो जागिर खाने सपना छ। बच्चा जन्मिएपछि उसलाई पढाईको साथसाथै सानोतिनो काम पनि गर्न पर्ने हुन्छ। त्यसैले उसलाई पैसा नकमाइकन हुदैन, विदेशको ठाउँमा दुईछाक खानलाई केहि त गर्नै पर्यो त्यसमा पनि सुत्केरी र बच्चालाई चाहिने अत्यावश्यक सामग्री जुटाउनै पर्ने हुन्छ, राम्रो तागतदिने खानेकुरा खुवाउनै पर्ने हुन्छ। रमा सुत्केरी भएको बेला उसले आफ्नो र बच्चाको स्वास्थ्यको ख्याल गर्नै पर्यो। त्यसकारण काम गर्ने भनेको विनोदले मात्र हो र यसले उसको पढाई र भविष्यका सपनामा तगारो हाल्ने काम गर्ने भयो।

त्यसैले उ त्यो रातको घटनालाई कल्पनामा परिवर्तन गर्न चाहन्छ - रमाले उसलाई आफुतिर तान्दा जबर्जस्ति रमाको हात छुटाएर अर्को कोठामा गएर - जुन बिपनामा असम्भव छ।  

[Photo Source: http://www.docubank.com]

गीत : दशैं

ढकमक्क फुल फुल्यो छर्दै धेरै रंग 
दशैँको यो माहोलमा सबै जना दंग


केटाकेटी नयाँ नयाँ लुगा लाउने भन्छन् 
आमाबुवा देवीमन्दिर पुजा गर्न जान्छन् 
तास खेल्न मान्छेहरु जम्मा हुने बेला 
चारैतिर दशैं उत्सव कति राम्रो मेला 

ढकमक्क फुल फुल्यो छर्दै धेरै रंग 
दशैँको यो माहोलमा सबै जना दंग 

बडासँग आसिक लिई ठुलो मान्छे बन्ने 
यहिँ नै हो ठुलो चाड सबै सँग रम्ने 
आकासमा चंगा नाच्छ अरु चेट गरि 
खाइन्छ है धेरै खाना पेट भरि भरि 

ढकमक्क फुल फुल्यो छर्दै धेरै रंग 
दशैँको यो माहोलमा सबै जना दंग

[I also have thought of a Guitar chord for this song as Am F C G]

ट्विटरमा कभर फोटो राख्ने तरिका

ट्विटरले पनि भर्खरै आफ्नो पेज परिवर्तन गरेको छ! यसमा अहिले नयाँ ME भन्ने मेनु थप गरिएको छ! अझ अर्को रोचक कुरा भनेको अब Facebook र Google+ मा जस्तै तपाईंले कभर फोटो राख्न सक्नु हुन्छ!कतिले अरुको देखेर कसरी गर्ने होला भनेर सोच्दै हुनुहुन्छ होला ;) कतिले त थाहा पाइसक्नु भएको होला, थाहा नभएकालाई यो पोस्ट उपलब्धिमुलक हुन सक्छ!




१. पहिले तपाईंले ME लाई क्लिक गर्नु पर्छ!
२. त्यो गरेपछी तपाईंको प्रोफाइल पेज खुल्छ! तपाईंले माथिल्लो भाग को देब्रे तिर Edit your profile लेखिएको बटन देख्नु हुन्छ! त्यसलाई पनि क्लिक गर्नुहोस् अनि अर्को पेज खुल्छ!
३. तपाईंले स्क्रिनको देब्रे तिर लिस्ट मेनु देख्नुहुन्छ अनि त्यहाँ मध्येको डिजाइन आइटममा क्लिक गर्नुहोस्!


४. अब पेज स्क्रोल गरेर Customize your own भन्ने खोज्नुहोस् ! त्यहाँ Header भन्ने हुन्छ! त्यहाँ भएको Change header बटनमा क्लिक गरेपछी तपाईंलाई मनपर्ने कभर फोटो कम्प्युटरबाट ब्राउज गरेर अपलोड गर्नुहोस् !  फेसबुक र गुगल प्लस जस्तै त्यो फोटोलाई ड्रयाग गरेर रिपोजिसन गर्न सकिन्छ!

तपाईंले मोबाइलबाट पनि यसरी नै परिवर्तन गर्न सक्नु हुन्छ! मोबाइलबाट Header परिवर्तन गर्दा एल्बमबाट वा सिधै क्यामेराबाट फोटो अपलोड गर्न सक्नुहुन्छ!   
(नोट: फोटोको आकार बढीमा १२०० X ६०० पिक्सेल र ५ एम बि हुनुपर्दछ!)

हेर्नुस् त मेरो प्रोफाइल कस्तो देखियो! राम्रो छैन त ...


अब तपाईं पनि ट्विटर प्रोफाइलमा कभर फोटो राख्ने की त ?

कथा : मलमास

"हेलो! तँलाई सन्चै छ?"
"दर्शन आमा, मलाई सन्चै छ, अनि हजुरलाई नी?"

"मलाई पनि एकदमै आराम छ, साँच्ची सुन् त बुहारीसँग तँ मलमास भरि संगै बस्न हुन्न, कतै पठाइदिनु है त।"
"ए, मलमास! ल ल बिचार गरुम्ला नी आमा, अझै २-४ दिन बाँकि नै छ नी।"
"भनेको मान्नु नी, फेरी अनर्थ हुनसक्छ, हाम्रै परिवारमा नराम्रो हुने हो"
"ल..ल आमा!"

उताबाट प्रकाशकी आमाले झ्याप्प फोन काट्छिन्। काठमाडौंबाट मोबाइलमा युरोप फोन गर्दा धेरै पर्ने अनि प्रकाशकी आमाले आफुले भन्नु पर्ने कुरा जति एकै मिनेट नभए दुई मिनेटमा सक्ने भनेर छिटो छिटो भनिहलिन। प्रकाशले नै फोन गरेको भए बुहारीसँग पनि कुरा गर्ने अनि आफ्नो बुढा र अरु कोहि पाहुना आएको भए उनीहरुलाई पनि कुरा गर्न लगाउने उनको बानी छ।

मोबाइललाई चार्ज गर्न राखेर उ पनि मंजु भएतिर जान्छ। मंजुलाई भान्सामा तरकारी पकाएको देखेर फेरी टिभी कोठामा आउँछ अनि फेरी मोबाइल ओन गरेर "एयांग्री बर्ड्स" भन्ने गेम खेल्छ। फेरी चोरको चाल जस्तै आवाज ननिकाली भान्सा कोठा तिर जान्छ अनि फेरी मंजुलाई हेर्छ। मंजु नुहाउने बित्तिकैको चिसो कपाल नकोरी अस्ति इन्डियनको पसल गएर किनेको कुर्तासुरवाल लगाएर पुजाआजा गरेर भान्सा पसेकी हो। प्रकाशलाई काममा जान ढिला होला भनेर उ संधै छिट्टै उठेर आफ्नो काम सकीओरि केहि खाजा पकाउछे। मंजु पनि पुर्लुक्क प्रकाश के गर्दै होला भनेर ढोका तिर हेर्छे अनि उसलाई देखेर मन्द मुस्कान दिन्छे।

प्रकाश आमाले भनेको कुरा सम्झिन्छ तर उसलाई त्यो कुरा भन्न मन लाग्दैन। उ पनि नुहाइधुवाइ गरेर खाजा खान बस्छ। मंजुले ग्रीट सुजी(मकैको सुजी)को खिर र पिरो पिरो आलु टमाटरको तरकारी बनाएकी हुन्छे, जुन प्रकाशले मिठो मानिमानि खान्छ। अनि उ पनि अफिस तिर लाग्छ।

मंजु पनि यसो इन्टरनेटमा नेपालका पत्र पत्रिका पढ्ने र घर सफा गर्ने तिर लाग्छे, अनि किनमेल गर्न एउटा झोला लिएर जान्छे। प्रकाशलाई फुलगोभीको तरकारी र चिकेन नागेट मिठो लाग्ने भएकोले उसले त्यो किन्छे अनि बासमती चामल किनेर घर फर्किन्छे। दिन भरि यताउता गर्दा गर्दै दिन बित्छ। उसले २ हप्ता भयो कपालमा मेहेन्दी लगाउने भनेको तर भ्याएकी छैन। एकछिन स्काइप् मा कोहि छ की भनेर हेर्दा पनि को को आएर तिनीसँग कुरा गर्न थाल्दा दिन नै बित्छ। यस्तै बितिरहेको हुन्छ छ उसको दिन चर्या।

साँझ हुन्छ, प्रकाश घर फर्किएर आउँछ। मंजु र प्रकाशसंगै भान्सामा रोटि पकाउन थाल्छन्। अस्ति एमेजोनबाट रोटिमेकर भन्ने किनेपछि उनीहरुलाई एकदमै सजिलो भएको छ। त्यसैले साझँको खानामा उनीहरुलाई रोटि नभई हुदैन।
रोटि र गोभीको तरकारी खाएर एक राउण्ड डकारेर प्रकाश सोफामा आफुलाई फाल्छ। मंजु पनि पकाएको भाडा मजेर अरु थाल कचौरा चम्चा डिसवासरमा हालेर प्रकाशको साइडमा आएर बस्छे।

"अलि ओर आउन, आफ्नो बुढासँग नी के लजाईराको होला"
मंजुले एक मुड्की प्रकाशको पौन्जा/पाखुरामा हान्दै "कति जिस्किराको होलान् यिनी पनि" भन्छे।
"के गर्नु त, यत्तिका ५ महिना पछि, बल्ल तल्ल भेट भएको छ।"
"के गर्छौ त, आफि विदेश आउने, भिसा दिन मानेन त्यो मुर्दारले..."
"त्यहिँ त तिमी आएको जम्मा २ हप्ता त भयो, ..."
"अनि के भो त ... टि.भी. खोलन!"
"बिहान आमाले नेपालबाट फोन गर्नु भएको थियो, अब पर्सि देखि मलमास हो रे अनि हामी संगै बस्न हुन्न रे एक महिना"
"ए हो त साँच्ची, यसपाली मलमासले गर्दा दशैं पछि सरेको हो नी त!अनि के भन्नु हुन्छ आमा?"
"त्यहिँ तिमीलाई कतै पठाइदिने १ महिनाको लागि भन्नु हुन्थ्यो। केहि अनर्थ हुन्छ रे त्यसो नगरे ..."
"के गर्ने त, आइतबार त हो, कहाँ जाने त?"
"ह्या कतै जान पर्दैन, खुरुक्क म संगै बस्ने हो नी, बिहे भएको ५ महिना पछि बल्ल बल्ल भेट, त्यो पनि मलमासले चेट"
"नकराउ तिमी, अनर्थ भए के गर्नु नी, सबले मलमास नाबरेर हो भन्छन् अनि के होला"
प्रकाश आफ्नो टाउको मंजुको काखमा राख्छ अनि मंजु उसको कपाल मसारिदिन्छे।
"त्यो के अनर्थ हो भन्ने पनि त थाहा हुन पर्यो नी। आज म पनि बिहान देखि यहिँ कुरा सोच्दै बस्दै थिएँ। तिमीसँग बिहान नै कुरा गरम की जस्तो पनि लाग्यो तर साँझ गर्छु भनेर गरिन।"

मंजु केहि नबोली प्रकाशको आँखामा हेर्दै उसको कापल सुम्सुम्याउँदैछे।

"आफिसमा पुगेर के चाहिँ अनर्थ हुँदो रहेछ भनेर मैले डेनेभरमा दिदीलाई फोन गरें। उहाँले भनेको, यो मलमास भरि चाहिँ गर्भ भएमा, त्यो बच्चा राम्रो जन्मिदैन रे, वा त्यो बच्चा रोगि हुने, दु:ख दिने त्यस्तो हुन्छ रे। यो समयमा गर्भ राख्नु राम्रो नभएकोले गर्दा पहिले पहिले बिहे भएको पहिले बर्षको मलमासमा श्रीमतीलाई श्रीमानबाट अलग छुट्याउनको लागि संगै बस्न हुन्न भनेको रहेछन्।"
" ... ए त्यसो पो रहेछ है!"
"अनि त्यसैले त्यो डरबाट मुक्त हुन यो नियम लागु गरेको हो! म त मान्दिन मलमास-सलमास"
"त्यसो नै हो भने त ठिकै छ नी, यो कुरा त हामीमा निर्भर गर्ने पो रहेछ त ...."
"त्यहिँ त प्यारी, त्यसैले अब आमालाई केहि नभन्ने, नियमको पालना गर्ने गरे भैगो नी!"
"आमाले सोधीहाल्नु भए के भन्दिने नी?" ठुलाठुला गाजलु आँखा झन ठुलो पारेर सोध्छे।
"तिमी केहि नभन्नु, म कुरा मिलाम्ला केहि सोधेमा"
"हुन्छ ... तिमी कति प्यारो छौ!"
"तिमी पनि त छौ नी ... " भन्दै प्रकाश मंजुलाई कसेर अंगालोमा बाँध्छ।




[Image Source: http://www.list.co.uk]

कथा : बिदेशी मोह

"एकजनाको कमाइले घर चलाउन त सार्है गार्हो पर्दो रहेछ ... " प्रविधि भान्साबाटै बर्बराउँदैछे ।
आकाशपनि उ भएतिरै गएर भन्छ " के भएन र ? सबै भै राखेको नै त छ नि ... "
"यस्तो पनि के भएको हो, भैगो तिमीले मेरो कुरा सुन्ने हो र ? भन्नै बेकार छ " प्रविधि टाउको अर्को तिर फर्काउँछे ।
"यी आइमाईहरुलाइ पनि बुझ्नै गाह्रो छ भन्या, बिहे अघि तिमी भए मलाई केहि चाहिन्न भन्ने अहिले आएर ... "
आकाशले केहि भनेर नसक्याउदै प्रविधि भन्छे " खाना रेडी भयो ... "
आकाश पनि चुप चाप खाएर अफिस तिर लाग्छ । प्रविधि भान्सा र भाडाकुडा सफा गर्न थाल्छे ।

फोनको घन्टी बज्छ । प्रविधि दौडिदै उठाउन आउँछे ।
"हेलो"
"हेलो प्रविधि ? "
" भन सदिक्षा "
" अनि भनिस त बुडालाइ विदेश जान ? नेपालको कमाइले कसरी भविष्य सपार्न सकिन्छ र ?"
"खै त्यहि सोच्या हो, आज राति भन्छु नि म । सुन न मैले भाडा मज्दै छु के पछि कुरा गर्छु नि है ? "
"ओक बाइ"
"बाइ"

दिनभरि प्रविधि आकाशलाइ  आकाशलाई के भनेर मनाउने होला भन्ने अनेकौ बिचार विमर्श गर्दै बस्छे र  त्यहिँ सोच्दै उ निदाउँछे ।

" तिमीले भनेर हुन्छ, म विदेश त जादै जान्न । अफ्नो घरपरिवार इस्टमित्र अफ्नो देश छोडेर म कतै जान्न । तिमी म बिना बाँच्न सक्छौ त? एक हप्ताको लागि काठमाण्डौं बाहिर गए त अत्तिन्छौ । "
"म माइत गएर बस्छु नि त ।"
"जहाँ गएर बस्न मन छ त्यहिँ गएर बस ।" भन्दै आकाशले ढोका बेस्कन आवाज आउने गरि तानेर बाहिर निस्किन्छ ।

झसंग हुँदै प्रविधि सपनाबाट बिउझिन्छे । घडी हेर्दा साँझको ४ बज्न लागिसकेको हुन्छ अनि हतार हतार पिठो मुछेर पुरी बनाउन थाल्छे। एकैछिनमा पुरी र आलुको तरकारी पकाएर ठिक पार्छे र आकाश आफिसबाट आउने समयको प्रतिक्षा गर्दै बस्छे।

आकाश पनि थकित मुद्रामा घर आउँछ अनि ब्याग सोफामा फालेर एकछिन आँखा बन्द गरेर ढल्किन्छ । प्रविधि पनि के भयो भन्दै आकाशको कपाल सुम्सुम्याउँछे ।
"आज धेरै कामको चाप थियो, हाकिमले धेरै पेल्दै छ आजकल!"
प्रविधिको मनमा यहिँ हो समय कुरा निकाल्ने भनेर सतर्क हुँदै आकाशको टाउको मालिस गर्दै भन्छे "त्यहिँ त, न यहाँ पैसा छ न आनन्द छ। टन्न काम गर्यो गर्यो ...."
"त्यहिँ त अत्ति नै छ।"
प्रविधि आकाशको निधारमा चुम्बन गर्छे। आकाश आफ्नो आँखा बन्द गरेर प्रविधिको काखमा पल्टिएको छ।
"तिमी पनि विदेश जाउ न, हुन्न?" उ आकाशलाई सुम्सुम्याउँदै भन्छे। "सदिक्षाको बुडा पनि गए रे महिनाको २ लाख कमाउछन् रे।"
"ह्या जो सुकै को बुडा जाओस्, म तिमीलाई छोडेर अन्त कतै जान्न।"
"केहि समय त हो अनि तिमी मलाई पनि लैजानु नी"
"भन्या जस्तो केहि सजिलो छैन, यसबारे कुरा नगरौं" भन्दै आकाश हात मुख धुन जान्छ।
प्रविधि पनि दु:खि हुँदै भान्सामा गएर पुरी तरकारी ठिक पर्छे अनि दुवै जना संगै खान्छन्।
एकैछिन ओलम्पिकको खेलहरु हेर्छन्। च्यानल बदल्दै गर्दा राजेश खन्नाको पुरानो आनन्द भन्ने फिलिम दिएको हुन्छ सेटम्याक्समा। प्रविधिलाई राजेश खन्ना भनेपछि एकदमै मन पर्छ। रिमोटले बल्ल शान्ति पाउँछ र सोफाको साइडको अग्लो भागमा थचक्क बस्छ।
सुत्ने बेला भयो, दुवै जना आमनेसामने बेडमा पल्टीएका छन्। आकाश प्रविधिको ओठमा चुम्बन गर्छ। प्रविधि पछि हट्छे।
"तिमी विदेश पैसा कमाउन जाने भए मात्र म तिमीसँग बोल्छु नत्र त बोल्दिन" भन्दै प्रविधि बटारिन्छे।
दुवैजना भित्ता तिर फर्किएर अबोल भएका छन्।
आकाशको दिमाग सय डिग्री सेल्सेसमा पानी भतभत उम्लिएको जस्तै हुन्छ। उ उग्र रिसाएको छ प्रविधिसँग। केहि बोल्दैन उ तर मन भित्र अनेकौं खण्डका कुराहरु एक पछि अर्को गर्दै दौडमा लागेका छन्।
आकाश भोलि प्रविधि उसको कुरा मान्ने र प्रविधि आकाशलाई उसको कुरा मनाउने भन्ने सोच्दै निदाउँछन्।

अर्को दिन बिहान प्रविधि खान पकाउछे अनि टेबलमा रख्दिन्छे, आकाश खान्छ अनि अफिस जान्छ। साँझ आकाश आउँछ एकै छिन टि भी हेर्छ, प्रिविधि खान तयार गर्छे, संगै खान्छन् तर केहि बोल्दैनन्। खाइसकेर प्रविधि टि भी हेर्छे आकाश भने आफ्नो आफिसकै काम गर्छ। आकाश बेडरुममा सुत्छ, प्रविधि गेष्ट रुममा!  दुवै जनाको मन पनि चिसो भयो र ओछ्यान पनि ! यो शिलसिला एक हप्ता सम्म जारि रह्यो!

आकाश अरु यसरी बस्न सकेन अनि उसले विदेश जाने निर्णय गर्यो। अनेकौ दलाल लगाएर अमेरिकामा काम गर्न जाने भनेर अनेकौ कन्सल्टेन्सी धाएर धेरै जुत्ता फटाल्यो। अन्ततोगत्वा एउटा दलालले मेक्सिकोबाट अमेरिका छिराइदिने भनेर मोटो रकम माग्यो। उसले पनि विदेश जाने चक्करमा भएको पैसा र ऋण गरेर २२ लाख दलाललाई बुझायो।

प्रविधि एकदमै खुशी छे, उसको अनुहारमा उज्वल भविष्यको सपनाले दिएको चमक झलझल झल्कदैछ।   उसले आफुलाई बिजयी ठानेर आनन्द मानेकी छ। उता आकाश प्रविधिको चाहनाको अगाडि नतमस्तक भएर घुँडा टेकेर बसेको छ।

जाने दिन भयो, सबै साथीभाइ इस्टमित्रहरु त्रिभुवन बिमानस्थलमा बिदाइ गर्न आए। प्रविधि र आकाशले छुट्टिनु अघि अन्तिम अंकमाल गरे। दुवैका आँखा रसाएका थिए। हात हल्लाएर आफ्नो ख्याल राख्नु भन्दै आकाश बिदा लिन्छ।

प्रविधि माइत गएर बस्छे। दिल्ली पुगेपछि फोन गर्नु है भनेकी थिई उसले त्यसैले आकाशको फोन कुर्दै बस्दै छे उ। फोटो एल्बम पल्टाएर आकाशसँग भएका तस्बिरहरु हेर्दै रात बिताउछे।  नभन्दै आकाशले नयाँ दिल्लीको एयरपोर्टबाट फोन गर्छ  र एकैछिन् उनीहरुको कुरा हुन्छ।

त्यसपछी आजसम्म आकाशको कुनै खबर आएको छैन। उसको फेसबुकको प्रोफाइल नेपाल छोड्नु अघि जस्तो थियो त्यस्तै छ। प्रविधिका माइती र घरका परिवार सबै चिन्तित छन्।


आज नागरिक पत्रिकाको मुख्य पृष्ठमा "२२ लाख तिरेर अमेरिका हिँडेका हजार नेपाली अलपत्र" शीर्षकको समाचार छापिएको रहेछ "। प्रविधि त्यो शिर्षक पढेर अलमल पर्छे, उसलाई रिंगटा लाग्छ र त्यहिँ बुर्लुंग लड्छे।  केहि समय पछि उ बुझिन्छे र आफुलाई खाटमा पाउछे।  फेरी पनि त्यहिँ समाचारले उसलाई दुखित बनाउछ, आकाशलाई विदेश जान कर गरेकोमा उसलाई धेरै नै पछुतो लागेको छ। उसलाई २२ लाख सत्यानास भएको पनि चिन्ता लागेको छ।

आकाश २ दिनमा नेपाल फिर्ता फर्किदै छ।  प्रविधि भने आकाशको कसरी सामना गर्ने भन्दै चिन्तित छे, आकाशलाई के मुख देखाउने, आकाशसँग कसरी माफी माग्ने, मैले किन यस्तो गरें भन्ने प्रश्नमा हराइरहेकी छे ।



[Image Source: themochacafe.com]

कथा : चिना जुराउने


"अहिले बिहे गर्दिन भनेर पनि कति भन्नु, सधै मम्मी किच किच गर्नुहुन्छ" झ्यालनिर बसेर हँसिया आकारको चन्द्रमा हेर्दै मोहिता आफैसँग बोल्दै छे  
"खुशी भनेको पनि चन्द्रमाको आकार जस्तो पो हो की क्या हो, सधै आकार फेरी बस्छ 
रातको १२ बजिसक्यो तर उसलाई निन्द्रा पटक्कै लागेको छैन "ह्या अमितले पनि कति हैरान परेको हो ! की बिहे गर्ने भन्नु की बिहे गर्दिन भन्नु, अल्झाई राख्छ माया लाउनु त कत्ति सजिलो छ ... तर मायालाई निभाउनु पर्यो नी "
उ झ्यालको पर्दा सारेर फेरी बेड तिर जान्छे अनि बेडमा थचक्क बस्छे "अब सुत्नु पर्ला जस्तो छ, यो मन त्यसै रोइरहेको छ, थम्थम्याउने पनि कोहि छैन, जो पनि यसलाई चिमोट्ने गर्छन् आजकाल" यस्तो भन्दै नाक खुम्च्याएर सिरक भित्र छिर्छे

एकैछिन मनमा दौडीरहेका अनेकौं तरंगहरु र निन्द्रालाई कुस्ती खेलाएपछि बल्ल तल्ल निन्द्राले जित्छ र मोहिता कोल्टो फेर्दै निदाउँछे

बिहानी सुर्यको किरणले उसलाई जिस्क्याउँछ र उ बिउझिन्छे बेडको देब्रे तिर रहेको घडीमा हेर्छे बिहानको साढे ६ बजेको हुन्छ उ फेरी दाहिने कोल्टे परेर निदाउँछे
ठ्याक्क सात बजे अलार्म "टिटिटिटिट् टिटिटिटिट् टिटिटिटिट् ...." गर्दै बज्छ उ जुरुक्क उठेर त्यो अलार्मलाई बन्द गर्दै त्यहीं टेबुलमा राखेर बाथरुम-ट्वाइलेट गर्न जान्छे उसलाई दिनहु नुहाउने अनि भगवानलाई सम्झने नगरी हुदैन सबै गरिसकेर उसको मामाघरबाट ल्याइदिएको घ्युमा झानेको दाल, पर मदिसे दाइको दोकानबाट किनेको बासमती चामलको भात, माइली साउनीले भक्तपुरबाट ल्याएको चम्सुर-पालुंगोको साग र टमाटरको चटनीको बास्नालाई पछ्याउदै भान्सा तिर पुग्छे र खाना हतार हतारमा खान्छे
स्कुटर ग्यारेजबाट निकालेर उ माहाराजगंजको टिचिङ हस्पिटलतिर लम्किन्छे बाटोमा केहि केटाहरुले नर्स-नर्स भन्दै  जिस्काएर हैरान परेकोले उसले त्यो सेतो कोट र सेतो प्यान्ट झोलामै बोक्ने गर्छे हतार हतार गर्दै रेस्टरुम पुगेर लुगा फेरेर वार्ड भिजिट गर्नलाई फाइल र एउटा कलम लिएर ग्यास्ट्रो वार्ड छिर्छे
हरेक बिरामीको रिपोर्ट लिदै, उनीहरुको बारेमा जानकारी लिएर आफ्नो साथीहरु भएको ठाउँमा बस्छे कसैले सिस्टर भनेर बोलाए उनीहरुसँग गएर के भएको छ सोध्ने अनि सालाइन दिने, इन्जेक्सन दिने, सहयोग गर्ने गर्नुपर्ने हुन्छ

साथीहरुले आमिर खानको कार्यक्रम सत्यमेव जयतेको बारेमा कुरा गरेको पनि उसलाई ध्यान नै छैन, उ आफ्नै जीवनको संघर्षमा हराईरहेकी छे होस् पनि कसरी, उसको प्रेमीले बिहे गर्नु पुर्व एउटा ज्योतिषीसँग चिना लडाउने अनि राम्रो भनेमा मात्र घरमा विवाहको कुरा उठाउने भनेर सल्लाह गरेको छ

" साँचो मायामा पनि केहि शंका हुन्छ र? साँचो मायामा पनि अरुले राम्रो नराम्रो भनेर मूल्यांकन गर्न सक्छन् र? माया गर्नु अघि नै चिना लडाउनु नी बरु राम्रो हुन्छ की हुन्न भनेर ... ढुक्क भएर बस्ने अनि" मोहिता आफैसँग मनमनै बर्बराएर एकोहोरिएर बसेकी छ सधै साथीहरुसँग जिस्किने मोहिता, सबसँग मिठोसँग बोल्ने मोहिता नबोल्ने टेबुल भएकी थिई नबोल्ने भित्ता, नबोल्ने, पंखा, नबोल्ने बिरामीका बेड, नबोल्ने झ्याल, नबोल्ने ढोका भएकी थिई 

यत्तिकैमा नबोल्ने टेबुल थरथर गरि थर्किन्छ त्यहाँ साइलेन्ट मोडमा भएको मोबाइलले टेबुलमा कम्पन गरेको थियो! झसंग पारिदियो उसलाई एकैछिन् त्यो कसको कल रहेछ भनेर हेरी अमितको रहेछ उसको अनुहारमा अलिकतिमात्र भएपनि उज्यालो देख्न सकिन्थ्यो
"हेलो ! "
"........ !" मोहिताको साँस मात्र सुनिन्थ्यो फोनमा
"आज हामी तिम्रो ड्युटी पछि भेट्ने है म पनि यहाँ मोडेल मै छु, मेरो पनि आज साझँ ५ बजे ड्युटी सकिन्छ"
"......... हँ ... हुन्छ !" मोहिता केहि बोल्न सक्दिन
" ल अहिले राखें है,  सधै भेट्ने गरेको ठाउँमा तिमीलाई कुर्दै बस्छु" यति भन्दै अमितले फोन काट्छ
" ....बाइ!"
मोहिताको "बाइ" त्यहिँ वार्डको कोठामा गुन्जिन मात्र पायो

उसलाई खाजा खान पनि मन छैन, साथीहरुको कुरामा "हो, अँ , होर ..." लगाउन मात्र सकेकी  छ। दिमाग त धरानको बिएससी नर्सिंग पढ्न गएको पलमा रमाइरहेको छ 
धरानको बि पि कोइराला मेडिकल कलेजमा मोहिताले नाम निकालेर पढ्न गएकी थिई उ जेहेन्दार क्षात्रा थिई! सबैको आँखा की नानी थिई, प्यारी थिई, ज्ञानी थिई उसका आँखा लोभलाग्दा थिए, मुस्कान भुतुक्कै पार्ने खालका थिए, कपाल रेशमी थिए, चम्किलो दाँतका मिलेका पंक्ति .... एकै नजरमा माया बस्ने खालको तर उ अलिक कठोर थिई त्यसैले कसैले पनि उसलाई माया गर्छु भनेर भन्ने आँट गर्न सकेन अमितले पनि मुखैले सुरुमा "आइ लाभ यु" भनेको होइन 
अमितलाई मोहिताले कम्युनिटी जाँदा चिनेकी हो अमित चाहिँ मेडिकल डाक्टरी पढ्दै थियो! कम्युनिटी जाँदा डाक्टर र नर्स पढ्नेहरु संगै जान्छन् साथी बन्छन् उनीहरु .... बिस्तारै फोनमा कुरा हुन्छ .... फोन बाट भेटघाट .... बिस्तारै अमितले होस्टेलको पुरानो कोठा छोडेर मोहिताको कोठा देखिने अर्को कोठा छान्छ त्यहाँबाट एक अर्कालाई हेर्दै फोनमा घन्टौ कुरा हुन्छ ... साझँ होस्टेल बाहिरको चिया पसलमा भेटघाट गरे पनि पुग्दैन उनीहरुलाई ब्यालेन्स सकिएपनि उनीहरु हातको इसाराले कुरा गर्छन् अझै दुइ जनाले प्रेमको जिकर गरेका हुदैनन् अमितलाई एकदिन झोक चल्छ अनि उसले एउटा ठुलो ए२ साइजको कागतमा " आइ लव यु, मोहिता" भनेर लेखेर देखाउँछ ... मोहिताको अनुहार रातो लालीले ढाक्छ, उसको मन तरंगित हुन्छ, उसको मुटुको धड्कन बढ्छ, उसको कान पनि रातो हुन्छ ... उसले मन लाई रोक्न सक्दिन र "मि टु" भन्छे जुन अमितले मोहिताको ओँठ पढेर थाहा पाउँछ .......

साँझको ४:४५ भयो, फेरी मोबाइल थर्कियो ... फेरी शान्त भयो एक्कासी अमितको मिस कल आएको रहेछ उ पनि अमितलाई भेट्ने भन्दै ठ्याक्कै ५ बजे निस्किन्छे सबै रिपोर्ट बुझाएर र सबै नाइट ड्युटीको लागि बसेकाहरुलाई बाइ भन्दै 
अमित सधै भट्ने बौद्ध जाँदा मूल सडकमै भएको मिचुंग रेस्टुरेन्टमा कुरी बसेको रहेछ
"के मगाउने त ?"
"मलाई केहि खाने मन छैन ..." आफ्नो नंगको उक्किन लागेको नेलपालिस कोट्याउँदै मोहिता भन्छे!
"मैले तिमीलाई मन पर्ने सी-मो:मो: मगाएको छु"
मोहिता टाउको मात्र हल्लाउछे ...

"के भन्यो त ज्योतिषीले? " एकैछिनको मौनता तोड्दै बिस्तारै सानो स्वरमा मोहिता सोध्छे उसको अनुहार हेरेर जो कोहिले पनि  केहि खुशीको समाचार सुन्न आतुर भएको अनुमान लगाउन सक्थ्यो 







"चिना जुदाएर हेर्दा राम्रो हुनलाई १८ गुण मिल्नु पर्छ रे ... " अमित भन्दै छ
"हाम्रो कति मिल्यो त?"
"जन्मको नक्षत्र आनुसार वर्ण, वैश्य, तारा, योनी, ग्रह, गण, भर्कोट र नाडी हेर्दा रहेछन् 
"हाम्रो कति मिल्यो भनन .... " उ अझै उत्सुक छे कति अंक मिल्यो भनेर सुन्न किनभने त्यहिँ अंक थियो उनीहरु बिच अहिले। मोहितालाई त्यो अंकसँग धेरै रिस उठेको छ.. उसलाई यो सब केहि मन परेको छैन तर पनि अमितले यसको आधारमा मात्र बिहे गर्ने भनेकोले उ केहि भन्न सकिरहेकी छैन
"हाम्रो भर्कोट, योनी, तारा एकदमै राम्रो छ ..."
" ए ... अनि "
"हाम्रो जम्मा १६ ओटा मिलेछ, ..................................."

एकछिन फेरी कोठा शान्त हुन्छ

"तिमी यी सब कुरामा विश्वास गर्छौ हो अमित?"
"........." अमित केहि बोल्दैन
मोहिताको अनुहारमा क्रुद्ध थियो, त्यहाँ रिसको र दु:खको अन्धकार पोतिएको थियो
मोहिता चर्किन्छे, उसको मुटुको धड्कन बढ्छ, उसलाई आज अमितसँग छिनोफानो गर्न मन छ उ यसरी आफैलाई सताएर बाँच्न चाहन्न

"तिमीलाई मेरो माया नै छैन रहेछ"
"त्यसो होइन, हाम्रो राम्रो को लागि हो" अमित टाउको निहुरिएर भन्छ
"मेरो माया तिमीलाई भए, मेरो विश्वास तिमीलाई भएको  भए यस्ता कुरा तिमी सोच्दै सोच्दैन थियौ! सोचेको भए पनि यस्तो रहेछ तर यो सब बकवास हो भन्ने सोच्थ्यौ"
अमित अबोला नै हुन्छ
"तिमीले ठिक गर्यौ अमित, यो कुरा बिहे अघि नै निस्कियो र मैले तिमीलाई चिन्न सकें"
"के भन्दै छौ तिमी...." मेरो कुरा बुझन
"म केहि बुझ्दिन, मलाई पुग्यो! म भगवानलाई सधै प्रार्थना गर्ने भएर त यस्ता कुरा विश्वास गर्दिन , तिमी जो मन्दिर त जादैनौ अहिले बिहे को कुरा आउदा ज्योतिषी कहाँ धाउने? त्यहिँ ज्योतिषीसँग बिहे गर वा जे सुकै गर" मोहिता आफ्नो ब्याग समात्छे
"तिमीलाई हाम्रो मायामा शंका रहेछ, ममा शंका रहेछ, म तिम्रो मुख पनि हेर्न चाहन्नँ" यति भन्दै कुद्दै उ रेस्टुरेन्ट बाहिर निस्किन्छे, स्कुटर स्टार्ट गरेर आफ्नो घर तिर जान्छे

उसको मनमा धेरै कुरा खेलीरहेको हुन्छ उसको मन दुखेको हुन्छ जयबागेश्वरीबाट भित्रि बाटो हुदै  भण्डारखाल चौरमा पुग्छे, त्यहाँ स्कुटर पार्किंग गरेर चौरमा भक्कानो छोडेर रुन्छे
आँखाबाट आँसुका धारा बगिरहेका हुन्छन् थाम्नै नसक्ने गरि ... 
मुट्ठीले कपाल समाउछे र  तान्न खोज्छे नजिकै रहेको बास्केटबल कोर्टमा खेलिरहेका केटाहरु रमित झैँ उसलाई हेर्दै हुन्छन् उसले आँखाको आँसु पुच्छे तर पनि आँसु सुकिसकेको हुन्छ र रेखाहरु प्रस्टै देख्न सकिन्छ उसको अनुहारमा महासागरमा जहाज डुबेझैँ उसको जीवन नै डुबेजस्तो अनुभव हुन्छ उसलाई ............

५ महिना पछि,
मोहितालाई बिहेको लागि भनेर थुप्रै केटाको कुरा चलेको २-४ वर्ष नै भएको थियो उसले थुप्रै बहाना गरेर बिहे गर्दिन भन्दै टारेकी थिई आज उसलाई फेरी एउटा इन्जिनियर केटो हेर्न आउदै छ उसको बुवा आमा लिएर मोहिता आज पनि के भनेर बहाना गर्ने भन्दै सोच्दै छे केटा र उसको परिवार घरमा आउँछन्! मोहिता पनि राम्रो कुर्ता सुरवाल लगाएर हातमा चिया रहेको किस्ती बोकेर आउँछे। उसलाई जो कोहिले पनि एकै नजरमा मन पराउथे, आज पनि त्यस्तै भयो केटालाई उ मन पर्यो उसका आमाबुवा पनि दङ्ग परे मोहिता अब म एक्कासी रिंगटा लाग्या बहाना गर्छु भनेर सोच्दै थिई  यता मोहिताका आमाबुवाले चिना जुराउने की त भन्छन् !
केटा जुरुक्क उठ्छ अनि भन्छ "मलाई यस्तो जुराउने कुरामा विश्वास छैन, बिहे गर्ने भए त्यसै गर्छु नत्र गर्दिन, मेरो लागि बिहे राम्रो नराम्रो भनेर त्यो कागजले छुट्याउन सक्दैन
सबैजना आफु बसेको ठाउँबाट जुरुक्क उठ्छन्

दुवैजनाका बाबुआमा अचम्म पर्दै उनीहरुलाई हेर्दै छन् मोहिता भने भित्रदेखि खुशी हुन्छे, उसको मन खेल्न थाल्छ, रमाउन थाल्छ, नाच्न थाल्छ ... उ त्यो केटाको अनुहार हेरेको हेरै हुन्छे आज उसलाई किनकिन यहिँ केटासँग बिहे गर्न मन लाग्छ उसलाई यो नै मेरो जीवनसाथी हो भन्ने महसुस हुन्छ दुईजना एकअर्कालाई प्रशन्न मुद्रामा हेर्दै छन्  ....





[Photo Source: astrojyotisatlanta.blogspot.com and visualphotos.com]

सफ्टवेयर इन्जिनीयरको प्रेम-पत्र

(इंग्लिशमा लेखिएको यस्तै चिट्ठीबाट प्रभावित भएर नेपालीमा उल्था र थपथाप गरेर तयार गरेको)


प्यारी,
मेरो जिन्दगीमा धेरै BUG हरु थिए तर जुन दिनदेखि तिमीलाई मैले आफ्नो जीवनमा ATTACH गरे त्यस दिन मलाई थाहा भयो की तिमी मेरो DEBUGGER रहेछौ। 

केहि दिन अघि म पार्कमा SURFING गर्दै थिए अनि तिमी नै त्यो मैले खोजेको WEBSITE रहेछौ भन्ने थाहा पाएँ। तिम्रो मुहार मात्र सुन्दर पाइन, बरु सब ACTIVEX का CONTROLS हरु आकर्षक लागे तिमीलाई म INFINITY गुना धेरै माया गर्छु । तिम्रो हाँसो यति प्रमोदक छ की हजारौ PROCESSING POWER दिन्छ

तिम्रो DATABASE मा अरु कसैले LOGIN गरेर INSERT, UPDATE नगरोस् भन्ने चाहन्छु, मेरो SQL CONNECTION फेल भएर ERROR देखाए मेरो SYSTEM पूर्णतया CRASH हुनेछ। मेरो RREQ लाइ ACCEPT गरेर मलाई ACKNOWLEDGMENT पठाउ। मलाई DIVIDE BY ZERO ERROR बाट बचाउने भए तिम्रो मायाको VARIABLE लाइ एउटा ठुलो CONSTANTमा परिणत गर

तिमी बिना मेरो यो जिन्दगी COMPILE नगरेको प्रोग्राम हो जसको .EXE फाइल बनाउन सम्भव छैन त्यसैले यस्तो जिन्दगीको सार्थकता म देख्दिन। त्यसैले यो चिट्ठीलाइ राम्रो सँग imread गरेर मेरो CO PROCESSOR बन्छौं भन्ने विश्वासका साथ SYSTEM.EXIT(0) गर्छु

उही तिम्रो,सफ्टवेयर इन्जिनीयर
COMPANYको ठेगान नभएको तर 
तिम्रो COMPANY खोजेको

के छोराछोरीलाइ ट्रयाकमा ल्याउन पिट्नु हुन्छ त ?


केहि दिन अघि छोराछोरीलाइ सानोमा पिट्न हुन्छ की हुदैन भन्ने बिषयमा कुरा चल्यो प्रायः केटीहरुले हुदैन भन्ने कुरा गरे भने सबै केटाहरुले नमाने त पिट्नै पर्छ नी भने। 
संस्कृतमा एउटा स्लोक छ :


"लालयेत् पञ्च वर्षाणि
दश वर्षाणि ताडयेत्
प्राप्ते तू षोडशे वर्षे
पुत्रं मित्रवदाचरेत् "


अर्थात् आफ्ना छोराछोरी पाँच बर्षको हुनेबेला सम्म धेरै नै माया गर्नु पर्छ त्यसपछिको दश वर्ष सम्म आफ्ना छोराछोरीको ख्याल राख्नु पर्छ, परेमा पिट्नु पनि पर्छ सोर्हौं वर्षदेखि साथीको व्यवहार गर्नु पर्छ
यसको मतलब छोराछोरीले दुख दिने समय भनेको ५ वर्षको उमेर देखि १६ वर्षको उमेरसम्म हो भन्ने बुझिन्छ सबैले दुख दिन्छन् भन्ने त छैन तर दिनेले बाबु-आमाको ज्यान नै खाएर छाड्छन मेरी एकजना आन्टीले त्यै भएर भन्नु भएको होला " छोराछोरीको जात, सानोमा मर्लानकी भन्ने डर, ठुलो भएपछी मार्लान की भन्ने डर" भनेर 


१० वर्ष देखि १६ वर्षको नपुगिन्जेल युवाहरुमा अनेकौ विचारहरु आउने रहेछन्  उनीहरुलाइ कसरी बाबु-आमालाइ ठग्ने देखि लिएर नयाँ नयाँ कुराहरु सिक्न मन लाग्ने रहेछ । घरमा कस्तो वातावरण छ त्यसमा पनि छोराछोरीको विचारहरु निर्भर गर्छ  यदि बाबु-आमा नै रातदिन झगडा गर्छन भने ती छोराछोरीमा नकारात्मक असर गर्छ र उनिहरु कुलतको सिकार पनि हुन सक्छ न। अनि बाबुआमले पनि छोरा-छोरीको अघि चाहिने भन्दा धेरै कुरा गर्नु हुदैन, यो कुराको पनि विचार गर्नु अत्यन्त जरुरि छ । राम्रा राम्रा ज्ञानबर्धक कुरा हरु गर्नु पर्छ । छोराछोरी संग धेरै जिस्किने, उनीहरुले भनेका हरेक इच्छा पुर्याइदिने गरेमा पनि उनीहरुले आफ्ना बाबु-आमालाइ हेप्न थाल्छन् ! त्यसैले उनीहरुको आवश्यक मागहरु मात्र पुर्याउनु पर्छ 


पश्चिमी मुलुकहरुमा छोराछोरीलाइ पिट्न हुदैन भनेर एउटा कानुन नै बनाइएको रहेछ उनिहरुका बच्चाहरुले उनिहरुलाइ दुख दिए भने पनि उनिहरु बरु आफु नै मानसिक तनावमा बस्ने रहेछन तर आफ्नो छोराछोरीलाइ एक शब्द पनि भन्न नसक्ने रहेछन्  १३ वर्ष देखि १५ वर्षको बच्चाले स्कूल जान मन नगरेमा, बाबु-आमाले भनेको नमानेमा, दुइ चार दिन घर नै नआएमा उनिहरु लाइ " पिउवर्टि / Puberty " भन्दा रहेछन्  अनि मानसिक डाक्टरसंग सल्लाह लिने, छोराछोरीलाइ त्यहाँ पठाउने गर्दा रहेछन् ! अझ छोराछोरीसंग डराएर कुरा गरेको देखेर मलाई एकदमै अचम्म लाग्यो 


म सानो हुँदा, मलाई पनि पढ्न मन लाग्दैन थियो  कसलाई पो सानो हुँदा पढ्न मन लाग्छ र ? :) मेरो मम्मी एकदमै बाठी, तिमिहरु पढ नत्र बुबाले पिट्नुहुन्छ भन्नु हुन्थ्यो अनि हामी बुबा हुँदा पढ्न बसीहाल्थिम्  बुबा युनिवर्सिटीमा पढाएर घर आउने बेला किताब समातेर बस्ने मेरो बानि नै भएको थियो  म पनि अलि अलि बाठो नै थिएँ क्यार सानोमा, बुबाले भर्खर पढ्न बसेको रहेछ भन्ने सोच्नुहोला भनेर किताबको बिचबाट पढ्न थाल्थे म  बुबाले नपढे गाली गर्ने र मम्मीले बुबाले गाली गर्नुहुन्छ नपढे भनेर भनेकोले डर-करले नै नौ कक्षा सम्म मैले पढें  त्यसपछि अहिलेसम्म भने आफैलाइ पढ्ने मन लाग्छ 


छोराछोरीलाइ आफ्नो बाबुआमा प्रति एक किसमको डर भने हुनुपर्छ  बुबाले के सोच्नुहोला, मम्मीले के भन्नु होला भन्ने किसिमको डर मनमा भए उनिहरु हतपत अनुशासनमै रहन्छन्  बाबुआमाले चाहिँदो भन्दा धेरै माया देखाएमा पनि छोराछोरी अटेरी हुने, झर्किने, भनेको नमान्ने, ढोका थुनेर बस्ने गर्छन्  किनभने उनीहरुलाइ डर भन्ने चिज नै हुन्न  त्यसैले केहि हदसम्म कडा हुनुपर्दछ !


एउटा १५ वर्षको नेपाली बच्चो आफ्नो बाबुआमासंगै विदेश आएछ दश वर्षको उमेर हुँदा  एक्लो छोरो, बाबुआमाले पनि माया गर्ने नै भए, त्यसमाथि उसलाई बिदेशी हावापनिले पनि समात्यो ! बिस्तारै उसले साथीहरु पनि बनायो, यताको सब संस्कार थाहा पायो अनि बाबुआमालाइ यतैको शैलीमा व्यवहार देखाउन थाल्यो ! बाबुआमालाइ विदेशमा त छोराछोरी १६ वर्ष भएपछी एकलाई बस्न खोज्छन, हाम्रो छोराले पनि एक्लै बस्ने हो की भन्ने पिर भयो ! उनीहरुको मानसिकतामा पनि परिवर्तन आयो, नेपालमा पिट्ने गरेको पनि छुट्यो ! छोरोले बाबुआमाको कुरा सुन्न छोडेर यता उता जाने, हुँदा हुँदा स्कूल नै नजाने सम्म गर्न लाग्यो ! बाबुआमाले जे भने पनि नसुन्ने अनि किन स्कूल जदैनस त भन्दा केहि नबोल्ने, झोक्रिने गर्न थाल्यो ! उनिहरुले पनि हारखाएर डाक्टरको सल्लाह लिन गए ! डाक्टरले यस्तै हो अब घर ढिलो आउने वा एक-दुइ दिन बेपत्ता नै हुन सक्छ भनेर पठाएछ ! त्यस्तो हुन नदिन छोडेर अविभावकले "त्यहाँ घर बाट कतै जाने होइन, खुरुक्क टाइममा घर आउने" भन्नु कहाँ छ कहाँ अब यो एक-दुइ दिन बेपत्ता हुन्छ तर केहि हुदैन भनेर चुप चाप बसे ! नभन्दै केटो दुइ दिन बेपत्ता नै भयो !


यस्ता थुप्रै घटना भै रहेका छन् जता ततै । हामी विदेशमा आएका छौँ भनेर सोच्नु हुदैन, हामी नेपाली हौ, हाम्रो संस्कृति यस्तो हो भनेर त्यसलाई प्रार्थमिकता दिनु पर्छ  कुनै कुरामा तलमाथि हुने बित्तिकै झपार्ने, थर्काउने त्यति गर्दा नमाने पिट्न पनि पर्छ  आफ्नै सन्तान हुन्, ठिक मार्गमा ल्याउनु त जसरी नी पर्यो नी, आफ्नै छोराछोरीसंग डराएर नी चल्छ र 


के तपाईं आफ्ना सन्तानलाइ ट्रयाकमा ल्याउन पिट्नु हुन्छ त ?


[तस्विर साभार : http://punishmentforchildren.com र http://www.ideasevolved.com ]