कुशेऔंशीमा बुवालाइ सम्झिदा

Posted on 8/25/2020 by अलङ्कार अर्याल

यसपाली किन हो, कुशेऔंशी नआइदिए हुन्थ्यो झैँ लागेको थियो तर लागेको जस्तो त कहाँ हुन्छ र। साउन २ गतेको रातिदेखि बिहानसम्म बुवाको पार्थिव शरीर कुरेर बस्दा मलाई बुवा जुरुक्कै उठेर बस्दिए हुन्थ्यो झैँ नलागेको होइन। हुन त बुवालाइ २०७६ साल भदौ महिनामा पित्त थैली/नलीको क्यान्सर लागेको पत्ता लागेपछि मैले यो रोग बारे धेरै अध्ययन गरेको थिए र त्यसको निचोड "यो रोगको उपचार गर्न कि अपरेसन गरेर क्यान्सर फाल्नु पर्छ नत्र यसको उपचार सम्भव छैन, अपरेसन गर्न पनि १०% को मात्र मिल्छ किनभने यो रोग नै ढिलो थाहा हुन्छ" थियो। नेपालका डाक्टरले ४ महिना समय तोके। 

बुवा जिन्दगीमा कहिलेपनि अस्पतालमा जचाउन नगएको अनि
भाषा र साहित्यमा योगदानको लागि प्रदेश रत्न २०७६ बाट सम्मानित  
अहिलेसम्म केहि उपचार नै नगरेको तर उहाँको मुखबाट पाइप छिराएर त्यो क्यान्सर छेड्दा उहाँ आत्तिनु त स्वाभाविक नै थियो, त्यसमाथि पेंक्रियाटाईटिस् (पेंक्रियाज सुन्निने) भएर उहाँलाइ अस्पतालमै राख्नुपर्यो। यस्तो सामान्य इन्डोस्कोपीको उपचारपनि सहन सक्नु भएन, अप्रेसन के सहन सक्नु होला र ? अब फेरी ३ महिनामा आउनुहोला सेन्ट फेर्नुपर्छ भनेर डाक्टरले पठाए धुलिखेल अस्पतालबाट। मेरो दिमागमा अझै पनि बुवालाइ अप्रेसन गरेर बचाउने मात्र चलिरहेको थियो। मैले मेरो एकजना साथीलाइ सल्लाह पनि मागे। उसले "यस्तो रोगमा भाबुक हुनुहुन्न, धेरै भए ६ महिना हो, परिवारहरु भाबुक हुन्छन तर यथार्थ अर्कै छ यो रोगको ... अब बुवालाइ सजिलो गराईदिनु पर्छ" भन्यो। सजिलो भनेको त्यहि मोर्फिन दिने रहेछ भन्ने थाहा भयो अनि घर-सल्लाह गरेर देल्ही पुर्याउने विचार गर्यौ। बुवासँग मैले देल्हीमा झन्डै ३ महिना बिताए। कहिले अस्पताल जान नपरेको बुवाले सबै खालको उपचार पद्दतिहरु ती तीन महिनामा गर्नु भयो। अप्रेसनपनि भयो तर हामी ९०% मध्येमा पर्यौ। डाक्टरले अब ३ महिना जस्तो मात्र बाँकि छ भन्ने कुरा गरे। त्यहि पनि केमोथेरापीबाट केहि लम्भ्याउन सकिन्छ कि भनेर त्यो पनि सुरु गरियो। पारिवारिक सल्लाह बमोजिम नेपालमै बाँकी केमो गर्ने भन्ने सल्लाह अनुसार नेपालमा नै अरु उपचार हुदै गर्यो। 

यो प्रसङ्ग मैले यहाँ किन जोड्न खोजे भन्दा, मलाई बुवा ११ महिना अघि नै धेरै बाँच्नु हुन्न भन्ने थाहा हुँदा हुदै पनि ब्रम्हालिन भैसकेर पनि जुरुक्क उठ्नु हुन्छ कि भन्ने विचार दिमागमा आएको थियो। म बुवालाइ बचाउन नसकेपनि एक महिना, एक दिन वा एक क्षण भएपनि धेरै जीवित नै हेर्न, बुवासंग बोल्न चाहन्थे। म लोभी भएको थिएँ। तर वास्तविकता अर्कै थियो।

मैले बुवालाइ राम्रोसंग जानेको धेरै भएको छैन। हाम्रो घरमा बोलीचाली भाषा संस्कृत थियो तर हाम्रै इष्टमित्रहरुले "कति नक्कल पार्छौ तिमीहरु खुब, नेपालीमा नबोलेर" भन्दा म ४ बर्षको बालक बुवासँग धेरै रिसाएको थिए किन संस्कृत बोल्नु पर्छ र ? भन्दै। बुवाले पाएका सम्मानहरुले घरका भित्ता भरिदै गर्दा मलाई ती पनि बेवास्ता लागेका थिए।  एक दुइ-ओटा भए पो महत्व हुन्छ बुवालाई सम्मान गरिहाल्छन भनेर मलाई नौलो लाग्दैन थियो। 
उपचार दौरान पनि बुवा आफ्नो नित्य-साधना निरन्तर गरिरहनु हुन्थ्यो।  
पहिले पहिले बुवाका अन्तर्वार्ताहरु टि.भी.मा आउँदा सबै संगै बसेर हेरिन्थ्यो, धेरै आउन थालेपछि हेर्न जाँगर लागेन।  बुवाका लेख, रचना, कवितामा मलाई चाख थिएन। बुवाद्वारा लेखिएका किताबहरु मैले कहिल्यै पढिन। त्यो बेला म बुवाका घर बाहिरका काम र नाम दुवैबाट अनभिज्ञ थिए। बुवा र बुवाको कामको महत्व मैले बुझ्न थालेको बल्ल १६ वर्ष जति भयो। बुवाले आफ्नो पुर्खाको विद्वतपरम्परा धान्नको लागि लागिपर्नु परेको रहेछ, जगन्नाथ, रश्मिराज हुँदै देवराजमा टुंगिएला भनेर।

बैरागी जेठाले सम्पादन गर्नुभएको "डा. विष्णुराज आत्रेय: श्रष्टा र सिर्जनाका विविध आयाम" मा बुवाका बारेमा १३१ जनाले आफ्नो लेख र मन्तव्य दिनु भएको रहेछ। म इन्जिनियरिंग पढ्दै थिए दक्षिण भारतमा त्यो ताक। मैले एक प्रति किताब आफु संगै लागेको थिए र ३ दिने ट्रेनको बाटोमा पढ्छु भनेर।  त्यसबेला बल्ल मैले बुवाका बाल्यकालका कुराहरु थाहा पाएँ, बुवाका बनारसका कुराहरु थाहा पाएँ,  बुवाका सिर्जनाका बारेमा थाहा पाएँ, बुवाका संघर्षका बारेमा थाहा पाएँ, उहाँको साहित्यिक यात्रा र नेपाली, संस्कृत र अवधि भाषामा साहित्यिक देनका बारेमा थाहा पाएँ, बुवालाइ बल्ल चिन्ने मौका मिल्यो।

त्यसपछि बल्ल मैले उहाँका केहि कृतिहरु पढें, मलाई रमाइलो लाग्यो। उहाँद्वारा लिखित "हामि भित्रको म" उपन्यासबाट मैले उहाँका रचनाहरु पढ्न सुरु गरें। उहाँका ४३ कृतिहरु मध्ये पाणिनी, पतंजली र वाररुची कात्यायन व्याकरण सम्बन्धित छन् र अनुसन्धानात्मक छन्। यी पुस्तकहरुका खोजहरुबाट अझै यसमा अनुसन्धान गरि यी तीन प्रभुत्वहरुलाइ राष्ट्रियकरण गर्न जरुरी देखिन्छ । बुवाले जहिले आफ्नो देशको, राष्ट्रको उन्नतिको काम गर्नुपर्छ भनेर मार्गदर्शन गर्नुहुन्थ्यो।  उहाँले भने जस्तै र उहाँका बाँकि रहेका कामलाइ निरन्तरता दिने प्रयास र सत्कार्य गर्नेछु भनेर अठोटका साथ यस कुशेऔंशीमा बुवालाइ शत् शत् नमन् गर्दछु। 

No Response to "कुशेऔंशीमा बुवालाइ सम्झिदा "

प्रतिक्रिया दिनुहोस्!