Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

गीत : दशैं

ढकमक्क फुल फुल्यो छर्दै धेरै रंग 
दशैँको यो माहोलमा सबै जना दंग


केटाकेटी नयाँ नयाँ लुगा लाउने भन्छन् 
आमाबुवा देवीमन्दिर पुजा गर्न जान्छन् 
तास खेल्न मान्छेहरु जम्मा हुने बेला 
चारैतिर दशैं उत्सव कति राम्रो मेला 

ढकमक्क फुल फुल्यो छर्दै धेरै रंग 
दशैँको यो माहोलमा सबै जना दंग 

बडासँग आसिक लिई ठुलो मान्छे बन्ने 
यहिँ नै हो ठुलो चाड सबै सँग रम्ने 
आकासमा चंगा नाच्छ अरु चेट गरि 
खाइन्छ है धेरै खाना पेट भरि भरि 

ढकमक्क फुल फुल्यो छर्दै धेरै रंग 
दशैँको यो माहोलमा सबै जना दंग

[I also have thought of a Guitar chord for this song as Am F C G]

विपद्

चौकस भाँचिएर भत्किएको झ्यालले,
स्वच्छ हावाको लालसा पुरा गराएको छ।
तर, हावाको बेगले छानापनि उडाएर लगेछ,
घर अधुरो-अपुरो बनाएर।

सुन्दर स्मृति पूर्ण तस्विरहरुले सजिएका ती भित्ताहरु,
थाहै नदिइ निर्जनताले पोतिएछ।
शब्द जहाँ चमक र भाव फैलाउथ्यो,
त्यो ओछ्यान पनि खालि छ।

भनौ कुन कथा?

रातले जुनलाई भन्यो
एउटा कथा भनन प्रिय ।
चन्द्रमाको आँखा फर्फरायो,
कपाल कनाउँदै चन्द्रमा सोध्छ-
कुन कथा सुनाउँ प्रिय?

स-साना नानी मोबाइलमा भुलेका
भुर्रा-भुर्री किताबको भारिसंग जुधेका
युवा बेरोजगारीले पिल्सिएका
कि युवती बम्बे-इराकतिर बेचिएका कथा
भनौ कुन कथा ...?

विदेशीएको छोराको बाटो हेर्दै आँखा लठठिएका
नाति-नातिनीलाई खेलाउँदा बुढा घुंडा दुखेका
सासु-बुहारी मिल्न नसकेर परिवारबाट छुट्टिएका
कि दाजु-भाई अंशकालागि रिसमा भुट्टीएका कथा
भनौ कुन कथा?

पहिले कलकल गर्ने अहिले लाटा भएका खोलाका
पानीको मूल सुकेर छटपटीएका ढुंगे धाराका
भुकम्प- बाढीले तहसनहस भएका परिवारहरुका
कि अन्न नउब्झाएर नांगिएका बाँझा खेतका कथा
भनौ कुन कथा?

विदेशका समाचार डराउँदै सुन्न-पढ्न पर्ने
गोलि कता चल्ने-बम कता पड्किने
अरब-कतारको गर्मिमा रन्थन्निएका कामदारका
कि बाकसमा आएको शवमा रोएकी भर्खर कि बिधवाको कथा
भनौ कुन कथा?

त्यहीं पनि जीवन चलेकै छ
कहीं हाँसो त कहीं रोदन छ
नेपालको कथा भनु कि विश्व कै भनु
आकाशको भनु कि धर्तिको कथा भनु
मेरो भनु कि तिम्रो भनु
भनौ कुन कथा?

Image: Source URL

अपरिचित



एक समय थियो, जब हाम्रो नाम एक सांस मै लिइन्थ्यो! 
जुन बेला हामी एक अर्काको हरेक धड्कन चिन्न सक्थ्यौं! 

केही नबोली पनि एक अर्काको भावना बुझ्न सक्थ्यौं! 
तिम्रो एक हेराइले मेरो मन प्रफुल्लित हुन्थ्यो! 
दुइ मुटु एक आत्मा भए जस्तो लाग्थ्यो... 
तर कता कता हामी अपरिचित नै रहेछौं... 

अहिले समय यस्तो आयो कि एक अर्कालाइ चिन्न पनि एकदमै गार्हो छ! 
एक अर्काको छायाँसंग पनि हामी अपरचित नै छौं! 
त्यै पनि किन तिम्रो एक हेराइले मेरो मन बेस्करी धक्धकिन्छ? 
तिमीले भनेका सबै कुराहरुले मलाई किन यसरी प्रभावित पार्छ?
तिमीले दिएका हरेक वाचाहरु मलाई किन याद आउछ? 
अपरिचित भए पनि किन तिमी मेरो आफ्नो लाग्छौ? 

यस्तो भएको पनि धेरै समय बितिसक्यो! 
त्यै पनि तिम्रो यादले मलाई सताईरहन्छ! 
तिमी अपरिचित नै भई मेरो मनमा बसिरह्यौ 
र म परिचित भएर पनि तिम्रो लागि अपरिचित नै रहें! 
शायद हामी अपरिचित नै थियौ होला... 
र हामी सधै भरी अपरिचित नै रहने छौ...

चलनचल्तीका नेपाली शब्दहरु

युवा पुस्तामा आजकल नयाँ नयाँ शब्दहरु सुन्न पाइन्छ पुराना स्कुले साथीहरुसँग जमघट भएको बेला मलाई पनि यस्तो अनुभव भएको थियो नेपाली भाषालाई परिमार्जन गर्नु पर्दछ भनिएकै छ 'स', 'श', 'ष' तीन ओटा धेरै भएर यसलाई स बनाउनु पर्छ- बुझी हालिन्छ भन्ने आवाज उठेको पनि हो के गर्नुपर्ने हो त म भन्न सक्दिन तर मलाई रमाइला लागेका शब्दहरु अलि अलि केरकार गर्ने प्रयत्न गर्छु  





युवा पुस्तामा लोकप्रिय शब्द हो 'बाल' कोहि बालै भएन भन्छन् त कोहि बालै भयो गहिरिएर सोच्ने हो भने, के चाहिँ सही र के चाहिँ गलत छुट्याउन गार्हो एउटा मानिस जाँचमा फेल भएछ रे, उसले यी दुईमा कुन भन्दा सही हुन्छ अड्कलबाजी मार्न गार्हो भयो मलाई 


बालै भएन - यस्ता मुला जाँच नी के पास गर्नु, फेल भएकै ठिक!


बालै भयो  - खत्तम नै भयो नी, पास हुनु पर्ने! 

अनि मैले एउटा निचोड निकाले, बालै भएन र बालै हो चाहिँ - के बिग्रीएको छ र, यस्तो हुदै गर्छ भन्न खोज्दा प्रयोग गर्न पर्ने रहेछ र बालै भयो भनेको चाहिँ - ला बिग्रियो, खत्तम नै भयो भन्न खोज्या होला केहि गरि सैलुनमा हाजामले दार्ही काटिरहेको बेला साथीको कल आएर 'बाल' भनियो भने चाहिँ- ए यसको कपाल नी काटीदिन भनेको जस्तो छ, ३० को दार्ही, ५०को कपाल कटिंग अनि २० को फेसियल गरेर १०० रुपियाँ कमाइने भो भन्दै फोनमा कुरा गर्या सुरमा हजामले पछाडी पट्टिको कपाल काटिदिए बल्ल तल्ल घरमा दिनहुँ किचकिच गरेर पालेको कपाल एकछिनमा उड्न पनि सक्छ 





मैले फेसबुक तिर धेरैले शब्द छोट्याएर लेखेको र यदाकदा भनेको पनि सुनेको छु जस्तै - दिदीलाई "दि", दादालाई "दा", बुबालाई "बा", आमालाई "मा" सामान्य नै लाग्छ यो छोटो रुप पनि हुदाँ हुँदै पछि पछि नन्दलाई "द", जेठानलाई "न", ससुरालाई "रा" पनि भनिएला यो सबै त ठिक छ तर "भिनाजु", "जेठाजु" र "आमाजु" संगै भएको बेला "जु" भनेर बोलाए कसलाई बोलाएको होला भनेर अलमल त पर्ने नै छन् मलाई अझ धेरै डर लाग्या कहाँ निर हो भन्दा, बुहारीलाई सासुले "री" भन्ने सम्म त ठिकै हो तर बुहारीले नी सासुलाई "सु" भने चाहिँ सासुहरुलाई लाज त दह्रै लाग्ला 





'फस्ट' भन्ने शब्द लगभग नेपाली नै भैसक्यो, स्कूल/क्याम्पस जस्तै छोरा-छोरीको पढाईको वर्णन देखि अहिले भर्खरै निस्किएको किताबमा माया पिरतीको वर्णन सम्म गर्न भ्याएकै छ 'फस्ट' शब्दले 'मेरो छोरा त क्लासमा फस्ट भयो नी', 'तिमीलाई नै हो मैले फस्ट मन पराएको, तिमी नै मेरो फस्ट र लास्ट', 'तिमीलाई मैले फस्टमा देख्दा नै मेरो दिलकी रानी तिमी भयौ' यति मात्र कहाँ हो र, बानेश्वर तिर पानीको समस्या हुँदा, फस्टमा कसले पानी भर्ने भनेर झगडा त पर्छ 





'हान्ने' भन्ने शब्दले पहिले पहिले 'पिट्ने' वा 'गोद्ने' भन्ने बुझाउने गर्दथ्यो आजकाल अर्कै छ 'हान्ने' भन्ने शब्द आलु जस्तै जुन तरकारीमा पनि मिल्ने खालको भएको छ फोटो हान्ने, एक दुई थाल भात हान्ने, बिहे हान्ने, नयाँ लुगा हान्ने, गितार हान्ने, गोल हान्ने आदि इत्यादी जेमा पनि मिल्छ 'हान्ने' लगाउन 'यसपालीको चुनावमा म संबिधानसभाको उमेद्वार हान्छु' भनेर कुनै नेताले भनेछ भने बुझ्ने युवाले त बुझीहाल्ने भए चुनावमा उठ्न लागेछ भनेर, नत्र प्रचण्ड, झल्लु र सुशीलले जस्तै मैले पनि पिटाइ पो खान्छु भनेर जित्ने पक्का पक्कि भएको नेताले पनि चुनावमा भाग नै नलिन नसक्ला भन्न सकिन्न 





'खेल्ने' शब्दले कुनै खेलमा सहभागी भइ प्रतियोगी हुने भन्ने बुझिन्छ वा अभिनय गर्ने बुझिन्छ आजकाल त च्याट पनि खेल्न मिल्छ, ट्वीट खेल्न मिल्छ ट्विटर तिर, लभ खेल्न मिल्छ केहि समय अघि मलाई एक जना बहिनीले 'आज मेरो स्कूलमा प्यारेन्ट्स डे छ अनि म त आज डान्स खेल्ने हो तपाईं पनि आउनुस् ल भनिन् ' मेरो घर नजिकै को बिद्यालय अनि शनिबारको दिन फुर्सद नै थियो मैले पनि ठिकै छ नी त डान्स कसरी खेल्ने रैछन् भनेर हेर्न जान पर्यो भनेर गएको थिएँ तिनी नानीले नृत्य गरिन अनि मलाइ नृत्य गर्दा पनि व्यायाम हुन्छ त्यसैले खेल्ने भनेको पनि मिल्ने नै रैछ जस्तो लाग्यो तर नेपाली ब्याकरणले दुईवटा क्रियापद लगातार लेख्ने र भन्ने छुट दिदैन र पो मार्यो त





यस्ता थुप्रै मलाई रोचक लागेका 'रड्डीज भयो', 'र्याग हान्यो', 'बाउले ह्यांग गर्यो यार' जस्ता वाक्यांशहरु पनि छन् तर अहिले चाहिँ भात हान्न जान पर्यो 





कतिलाई यो पढेर वाइयात लाग्छ होला, कतिलाई समयको सत्यानास भएको महसुस हुने होला तर मलाई बाल मतलब :) 

केहि मुक्तकहरु

तरकारी मै झोल हाले दाल किन चाहियो ?
हँसाउने गीत गाउँन लाई ताल किन चाहियो ? 

जति झर्छ झारोस्, ह्या तातो पानीले नुहाउने हो, 
तालु छोप्न टोपी लगाए कपाल किन चाहियो ? 

------------------------------- 

मलाई देखि मुसुक्क पर्ने हरु धेरै थिए ! 
बोलि सुनी भुतुक्कै मर्ने हरु धेरै थिए ! 
मेरो अतितको कुरा सुने अत्तिएलाउ, 
मलाई पनि मिस कल गर्नेहरु धेरै थिए ! 

------------------------------- 

पराइलाइ आफ्नो ठानी भुल पो भएछ ! 
मलाई होच्याउने सबैको लागि कूल पो भएछ !
यति सम्म खुल्ला किताब भए छ की जिन्दगी, 
बिच बाटोमा झुन्डिएको तुल पो भएछ !

-------------------------------

गजल : किन चाहियो र ?

तिमीसँग भेट्नलाई, नाता किन चाहियो र ?
प्रेमले नै बाँधिदिएँ, डोरी किन चाहियो र ?

मुटु हाम्ले साटीसकिम् अब के नै छ र दिनु ,
कोसेली त माया नै हो, फुल किन चाहियो र ?

संसारले कुरा काटे पति-पत्नी बनौला नि,
रगतले रङ्गीदिन्छु, सिन्दुर् किन चाहियो र ?

औंठी फुली तिलहरि किनिदिने हुती छैन,
नामै मेरो अलङ्कार, सुन किन चाहियो र ?




गजल :भेट्न आउँदैछु

तिमीलाई अब छिट्टै भेट्न आउँदैछु ।
हामी बीच को यो दुरी मेट्न आउँदैछु ।

तिमी बिना आन्दोलित मन रणभूमि पसेको छ,
सबैखाले चक्रविय्हू, चिर्दै आउँदैछु ।

कोलाहल छ चारैतिर सुखसलय कत्ति छैन,
तिमीसंग छुट्टै संसार, बसाउन आउँदैछु ।

स्पर्श तिम्रो नपाएर छट्पटीन्छ पुरै देह,
न्यानो अंगालोमा तिम्रो, बाँधिन आउँदैछु ।

तिमीलाई अब छिट्टै, भेट्न आउँदैछु ।
हामी बीच को यो दुरी, मेट्न आउँदैछु ।





दुस्वप्न

मर्न मन लाग्छ मलाई
अब प्रयास गर्दा–गर्दा वाक्क भैसके
जुन कुराहरु पनि उल्टा–उल्टा हुदैछन्
लाग्छ मलाई श्राप लागेको छ
म दुस्वप्नमा बाँचिरहेको छु !

रुन मन लाग्छ मलाई
झुट बोल्नेहरुसँग वाक्क भैसके
माया गर्नेहरु पनि बाटो फेर्दैछन्
लाग्छ संसार नै पराइ भएको छ
म दुस्वप्नमा बाँचिरहेको छु !

गजल : याद आयो


आज मलाई मेरो गाउँ सार्है याद आयो
तौलिहवाको मायाले एक्दमै सतायो ।

तिलौराकोट् जङ्गलको बनभोज अनि
बाबा दाईको जेरी सम्झी मुख नै रसायो ।

तौलेश्वरनाथ् मन्दिर गै चोरिन्थ्यो प्रसाद
पण्डित् जीले चाल पाए अर्कैलाई फसायो ।

बेलुकाको खाना खाई हजुरआमालाई
कृष्णजीका लिलाहरु सुनाउ्न लगायो ।

ऐतिहासिक शहर हो मेरो तौलिहवा
शिद्धार्थलाई गौतम बुद्ध यसैले बनायो ।

आज मलाई मेरो गाउँ सार्है याद आयो ।
तौलिहवाको मायाले एक्दमै सतायो

गजल : एक्लै बाँचीरहेको छु

तिमी टाढा भएपनि, एक्लै बाँचीरहेको छु
हामी भेट्ने दिन गन्दै, एक्लै बाँचीरहेको छु ।

तिम्रो अनुहारलाई काटी, मेरोसंगै टाँसीदिएँ
त्यहिँ तस्विरमा रम्दै, एक्लै बाँचीरहेको छु ।

सम्झिरन्छु हामी दुबै, मिली बुनेका सपना
साकार पार्ने अठोट गर्दै, एक्लै बाँचीरहेको छु ।

तन-मन दुख्छ-पोल्छ, आँखाबाट सागर बग्छ
बल्ल-तल्ल सम्हालिंदै, एक्लै बाँचीरहेको छु ।


( वाक्यात्मक रदिफ प्रयोग गर्न खोजेको हुँ । )

यस्तै हो की ?

पसिनै निकाल्ने गर्मीमा पनि
पुरै शरीर कठाङ्ग्रीएको छ !
तिम्रो न्यानो स्पर्ष नपाएर पो हो की ?

यस्तो कोलाहालमा पनि,
लाटो-बहिरो जस्तो भएको छु म !
तिम्रो स्वर सुन्न नपाएर पो हो की ?

पहिलेका ती राता-रसिला ओठहरू,
सुकेका छन्, फुटेका छन् !
तिमीलाई चुम्न नपाएर पो हो की ?

साथी-भाई इष्ट मीत्रसँग बस्दा पनि,
एक्लै छटपटाइरहेको छु म !
तिमी म सँगै नभएर पो हो की ?

ती राता गुलाफका फुलहरू पनि,
किन हो किन ओइलाएका जस्तो लाग्छन् !
तिमीलाई उपहार दिन नपाएर पो हो की ?

के गर्ने यस्तै रहेछ जिन्दगी,
तिम्रो तस्बीर हेरी आफुलाई भुलाईरहेछु !
तिमीलाई सम्झेर आफुसँगै बोल्दै, एक्लै भुनभुनाईरहेछु !
राति मेरो सपनीमा तिमीलाई बोलाउन पो हो की ?

गजल : सकिन


दाग लाग्यो जिन्दगीमा मेट्न सकिन ।
सफलतालाई मैले अझै भेट्न सकिन ।।

रिसाएर मसंग तिमी जान खोज्दा ।
घरको त्यो मूल ढोका छेक्न सकिन ।।

सयपत्री-मखमली फुल फुल्ने महिना
फक्रिएको फुल कुनै देख्न सकिन ।।

कपि कलम लिएर गजल लेख्छु भन्दा ।
तिम्रै मुहार कोरिइन्छ लेख्न सकिन ।।