बुबालाई पहिलो इमेल

Posted on 2/23/2011 by अलङ्कार अर्याल

बुबा दर्शन,

हजुरलाई ओनलाइनमा हेरिरहन्छु तर कहिले देख्दिन ! यहाँको समय र त्यहाँको लोडसेडिङको कारणले गर्दा पनि होला ! शनिवार र आइतबार चाहिँ कुरा गर्न मिल्छ स्काईप् मा !

यहाँ सबै कुरा सिस्टममा चल्ने रहेछन् ! बाटोमा हिंड्दा गाडी आफै रोक्छन्, हिड्ने मान्छेले कुर्न पर्दैन ! ट्रेन र ट्राम जति बेला पनि पाइन्छन् ! मलाई ट्रेनमा टाउको दुख्यो २ दिन जति तर अब ठिक भएको छ, ट्रेनमा सजिलो हुन्छ जहाँ जान पनि ! एउटा स्टाडप्लान भन्ने हुन्छ त्यो हेर्दै जहाँ पनि पुगीन्छ ! यहाँ ट्रेन, ट्राम वा बसमा पहिले ओर्लिनेलाई ओर्लिन दिनु पर्ने रहेछ त्यसपछी मात्र चड्नु पर्ने रहेछ ! त्यो कुरा मलाई एकदमै ठिक लाग्यो किनकि ओर्लिने मान्छे ओर्लिन पाएन भने त फेरी अर्को स्टेशनमा ओर्लेर फेरी अर्को ट्रेन चढेर फिर्ता आउनु पर्छ ! चड्ने त धेरैमा ३-४ मिनेट कुर्यो भने अर्को चढ्न पाउँछ ! अनि एक्सिलेटरमा दाहिने तिर उभिनु पर्ने रहेछ, देब्रे तिर खाली छोडेर ! कोहि हिड्न चाहनेहरु देब्रे तिरबाट हिड्न सजिलो होस् भनेर ! यहाँ गाडीहरु पनि नेपालको भन्दा उल्टातिरबाट हिड्छन् , दाहिने पारेर ! म नेपाल जस्तै सोचेर देब्रे तिर ट्राम कुरेर बसें तर ट्राम आयो तर उल्टा जाने रहेछ अनि फेरी बाटो काटेर अर्को तिर उभिएँ अनि बेक्कारमा ६ मिनेट बढी कुर्न पर्यो ! कुर्ने ठाउँमा अब कति मिनेटमा अर्को ट्रेन/ट्राम आउँछ भनेर देखाउँछ अनि झन सजिलो हुन्छ ! यहाँको मलाई मन नपरेको कुरा भनेको सबैजना बाटोमा चुरोट तान्दै हिड्छन् अनि मलाई बाटोमा हिंड्न त्यति मन लाग्दैन बरु ट्रेन र ट्राममै हिडेको ठिक !

म आएको अर्को दिन देखि एक्लै नै आफ्नो काम गर्न गएँ ! नक्सा हेर्दै जानु पर्ने घर नै पुगिने रहेछ ! कसैलाई बाटो सोध्न पर्दैन ! हिजो-अस्ति घाम लाग्या छ तर जाडो भने माइनस नै हुन्छ ! -८, -५ हुन्छ ! अर्को हप्ता देखि जाडो कम हुन्छ होला ! मैले आएर युनिवर्सिटीमा आफुलाई दर्ता गरें अनि भाषाको लागि पनि भर्ना गरेको छु अब इन्सुरेन्स गर्न मात्र बाँकी छ ! अब ३ महिना लाग्छ यो भाषा सक्किन अनि त्यसपछी युनिवर्सिटीमा पढ्न पाइन्छ ! नेपालमा पढेको भाषाको सर्टिफिकेट यहाँ काम लग्यो ! त्यसैले एकै चोटी अब तेस्रो लेभलमा भर्ना भयो ! मैले यहाँ आएर इंग्लिश बोलेको छैन ! यहाँकाले बोलेको सामान्य कुराहरु प्रायः बुझ्ने रहेछु ! धेरै नै गार्हो शब्दहरु बुझ्न अप्ठारो हुन्छ ! तर इंग्लिश नबोली बैंकमा खाता खोलें, भाषाको भर्ना गरें, युनिवर्सिटीमा दर्ता गरें अनि स्टुडेन्ट कार्ड बनाएँ ! मेरो युनिवर्सिटी पनि धेरै ठुलो रहेछ ! हरेक बिल्डिंग छुट्टा छुट्टै बाटोमा पर्छ अनि बाटोहरु धेरै लामो लामो हुन्छ ! एउटा बाटो कम्तिमा ३ किलोमिटर जति हुनेरहेछ ! पछि क्लास लिन पनि छुट्टा छुट्टै बिल्डिंगमा जानु पर्छ अनि इन्टरनेटबाट हेर्नु पर्छ लोकेसन र टाइम !

ब्याचलर जस्तो हुदैन रे मास्टर्सको पढाई, धेरै रिसर्च गर्ने खालको हुन्छ रे ! मैले अस्ति एउटा केटो भेटेको थिएँ ! त्यो पनि म जस्तै इन्जिनियरिङ गरेर आएको रहेछ पोल्यान्डबाट ! उसलाई भने भाषाको समस्या छैन, हामीले हिन्दी जानेको जस्तै तिनीहरुले पनि यहाँको भाषा जान्ने रहेछन् !

धेरै हिड्नु पनि पर्दैन, जता पनि ट्रेन र ट्राममा जान मिल्छ ! ट्रेन भनेको अन्डरग्राउण्ड हुने रहेछ अनि ट्राम भनेको बस तर ट्रेनको जस्तै लिक भएको र ३ ओटा डिब्बा भएको हुने रहेछ !
यहाँ ट्वाइलेटमा धारा हुँदैन रहेछ, पपेर युज गर्न पर्ने रहेछ ! त्यो चाहिं मलाई एक दुइ दिन अप्ठारो लाग्यो अहिले त बानि परेको छ ! बिहान ट्वाइलेट गएपछी बाथरूम गएर नुहाउदा खासै फरक नपर्ने रहेछ !
आएको १ हप्तामै धेरै कुरा जानिसकेको जस्तो लागेको छ, कहाँ जाने, के गर्ने, कसरि बोल्ने आदि कुराहरु ! मेरा केहि फोटोहरु एट्याच्च गरेर पठाउँदै छु !

मम्मी, मेरो चिन्ता गर्न पर्दैन ! दिज्जु भिनाजु भान्जा भान्जीसंगै भएकोले होला पुरानो बानेश्वरबाट मण्डीखाटार गएजस्तै लागेको छ ! नेपालको ब्रेड मैदाले मात्र बनाएको पातलो हो तर यहाँको ब्रेड धेरै बाक्लो हुने रहेछ, यसलाई फापर, गँहु, मैदाहरु मिलाएर बनाउने रहेछन् त्यसैले २ चाना खाए अगाईन्छ ! त्यसमा बिचमा चिज,जाम, बटर लगाए खाँदा झन् मिठो हुन्छ ! तर मलाई बटर भन्दा जाम नै मन पर्छ ! हजुरले पठाई दिएको लप्सीको आचार आधि भइसक्यो ! सबैलाई मिठो लागेको छ ! हजुरले बरु ब्लडप्रेशरको औषधी खान बिर्सिन हुन्न ! बरु म्याद हेरेर धेरै ल्याए हुन्छ !

फेरी धेरै कुराहरु संगालेर लामो इमेल गर्छु ! आजलाई यति नै !

हजुरको आज्ञाकारी छोरा,
अलङ्कार

प्रतिक्रियाहरु