गुरु जगन्नाथ शर्मा त्रिपाठी मेरो स्मृतिपटलमा

Posted on 4/06/2011 by अलङ्कार अर्याल

"धेरै दिन भएको थियो खासै म ब्यस्त नै नभए पनि यताउता गर्दा गर्दै दिन बित्ने गर्थ्यो |  आज धेरै दिन पछी मैले बिगत केहि दिन यताका समाचारहरु समय दिएर पढ्ने जमर्को गरें | अनि एउटा समाचारमा मेरो आँखा टक्क अडियो "जगन्नाथ शर्मा त्रिपाठी अब रहनु भएन " ! अनि बिगतका दिन तिर पो पुग्न थालें म |
डोन बस्को उच्च माध्यमिक बिद्यालयमा मैले दस जोड दुई पढेको हुँ | जीवबिज्ञान संकायको अध्यन गरेकोले पहिलो वर्ष गणित र दोश्रो वर्ष नेपाली पढ्नु पर्ने थियो र दोश्रो वर्ष चाहना हुनेले ऐच्छिक गणित पनि पढ्न पाइन्थ्यो |

दोस्रो वर्षको पहिलो दिनको पहिलो कक्षा पढाउन अग्ला कदका धेरै बुढा देखिने दौरासुरवाल, कालो जुत्ता, ढका टोपी लगाएका मानिस पढाउन आए | बोल्दा पनि बिस्तारै बोल्ने त्यस्ता शिक्षकले के नै पढाउलान् र भन्ने पनि लग्यो | तर सोचेको भन्दा एकदमै पृथक भयो मेरो अनुभव |

मेरो दिज्जुको पनि गुरु भएकोले र सबैले गुरु भन्ने गरेकोले र भाषा, संस्कृति, धर्म र विभिन्न ग्रन्थका व्याख्याता भएकोले सबैले उहाँलाइ त्रिपाठी गुरु भनेर सम्बोधन गर्थे त्यसैले होला म पनि गुरु नै भनेर सम्बोधन गर्छु | त्यसैले मेरो २ जना गुरु हुनुहुन्छ, एकजना मलाई ब्रतबन्धमा मन्त्र सुनाउने गुरु [मेरो बुबा] र अर्को त्रिपाठी गुरु |

गुरु भन्ने कुरामा मलाई त्रिपाठी गुरुले भन्नु भएको एउटा प्रसगं याद आयो | " बस चलाउनेलाइ पनि "गुरु, जाउँ जाउँ " भन्छन् | अस्ति म गाउँबाट आउँदै गर्दा एउटा भाडा माज्ने बच्चोलाइ पनि गुरु छिटो माजेर ल्या भन्दै थियो | मलाई कसैले गुरु भनेर सम्बोधन गर्दा पनि कस्तो कस्तो लाग्छ |"

त्रिपाठी गुरु सधै पहिलो कक्षा पढाउनु हुन्थ्यो | उहाँको नेपाली साहित्य जगतको थुप्रै साहित्यकारसंग सम्पर्क रहेछ | उहाँले हामीलाइ लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समदेखि अहिलेका राष्ट्रकबि माधबप्रसाद घिमिरेसम्मका कुरा गर्नु हुन्थ्यो | धेरै रोचक रोचक घटनाहरु सुनाउनु हुन्थ्यो हामीलाइ | एकदिन गुरु छन्दको कुरा गर्दै हुनुहुन्थ्यो अनि एउटा छन्दको नाम "पुछ्रे अलंकार" रहेछ अनि गुरु लगायत मेरा सम्पूर्ण साथीहरु मलाई हेर्दै हाँसेको क्षण अझै मेरो दिमागमा ताजै छ |

गुरु समयमा नै आउनु हुन्थ्यो अनि समयमा नै जानु हुन्थ्यो | नेपाली पाठ्यक्रमका सबै कथा, कविता पढाउदा गुरु त्यससंग जोडिएका सबै कुरा सुनाउनु हुन्थ्यो अनि त्यसैले होला कक्षा कहिले नसकियोस् झैँ लाग्थ्यो |

+२ को पढाई सकेपछीको कुरा हो म बुबा र मम्मीसंग भारती खरेल आख्यान पुरस्कारको कार्यक्रममा गएको थिएँ | मेरो बुबालाइ २०५८ सालमा भारती खरेल आख्यान पुरस्कार दिइएको थियो, त्यो भन्दा अघिल्लो साल जगन्नाथ गुरुलाइ दिइएको रहेछ | गुरुपनि आउनु भएको थियो त्यस कार्यक्रममा | गुरुलाइ देखेर म एकदमै खुशी भएँ | कार्यक्रमको अन्त्य तिर जलपान गर्ने क्षणमा बुबाले मलाई देखाउदै " मम कनिष्ठ पुत्र: " [मेरो कान्छो छोरा] भन्नु भयो अनि गुरु अचम्म पर्नु भयो, मुसुक्क हाँस्नु भयो अनि मेरो हात समाउनु भयो | केहि भन्नलाइ मुख खोल्दै हुनुहुन्थ्यो पछाडीबाट कसले जाने भनेर बोलायो अनि कुरा भने भएन | त्यसपछी गुरुलाइ भेट्ने मौका मिलेको थिएन |

भाषा, धर्म र व्याकरणको आधिकारिक व्याख्या गर्ने धरोहर र भाषा, संस्कृति, धर्म र विभिन्न ग्रन्थका व्याख्याता जगन्नाथ शर्मा त्रिपाठी गुरुले लामो समय अध्यापन गराउनुका साथै पुस्तकहरु लेख्नु भएको थियो । उहाँले त्रिचन्द्र र पद्यकन्या कलेजमा ३० बर्ष अध्यापन गराउनु भएको थियो । दोलखामा जन्मेर २१ वर्षको उमेरदेखि दार्जलिङमा अध्ययन गर्नुभएका त्रिपाठी गुरुले नेपाली साहित्य क्षेत्रमा निकै धेरै योगदान दिनुभयो ।

भाषा र साहित्य शुद्ध लेखिनुपर्ने, मौलिक संस्कृति जोगाउनु पर्ने र नागरिक सज्जन हुनुपर्ने त्रिपाठी गुरुको मान्यता थियो । उहाँलाइ विद्वत्केशरी त्रिपाठी पनि भनिन्छ ।

८४ वर्षको उमेरसम्म निरन्तर भाषा र साहित्यको उत्थानको लागि उहाँले गर्नु भएको योगदानको कदरगर्दै उहाँलाइ हार्दिक श्रद्धाञ्जली टक्र्याउन चाहन्छु ।



[ Photo Source : Kathmandu Don Bosco College Facebook Account ]

2 Response to "गुरु जगन्नाथ शर्मा त्रिपाठी मेरो स्मृतिपटलमा"

. Rabindra Says....

जगन्नाथ गुरुका बारेमा हाम्रो अनुभव लगभग यौटै रहेछ। धन्यवाद पुन:स्मृतीका लागी !

. अलङ्कार अर्याल Says....

तपाईंलाइ पनि यो पोस्ट शेयर गरिदिएकोमा धन्यवाद !

प्रतिक्रिया दिनुहोस्!