चलनचल्तीका नेपाली शब्दहरु

Posted on 6/29/2013 by अलङ्कार अर्याल

युवा पुस्तामा आजकल नयाँ नयाँ शब्दहरु सुन्न पाइन्छ पुराना स्कुले साथीहरुसँग जमघट भएको बेला मलाई पनि यस्तो अनुभव भएको थियो नेपाली भाषालाई परिमार्जन गर्नु पर्दछ भनिएकै छ 'स', 'श', 'ष' तीन ओटा धेरै भएर यसलाई स बनाउनु पर्छ- बुझी हालिन्छ भन्ने आवाज उठेको पनि हो के गर्नुपर्ने हो त म भन्न सक्दिन तर मलाई रमाइला लागेका शब्दहरु अलि अलि केरकार गर्ने प्रयत्न गर्छु  



युवा पुस्तामा लोकप्रिय शब्द हो 'बाल' कोहि बालै भएन भन्छन् त कोहि बालै भयो गहिरिएर सोच्ने हो भने, के चाहिँ सही र के चाहिँ गलत छुट्याउन गार्हो एउटा मानिस जाँचमा फेल भएछ रे, उसले यी दुईमा कुन भन्दा सही हुन्छ अड्कलबाजी मार्न गार्हो भयो मलाई 


बालै भएन - यस्ता मुला जाँच नी के पास गर्नु, फेल भएकै ठिक!

बालै भयो  - खत्तम नै भयो नी, पास हुनु पर्ने! 
अनि मैले एउटा निचोड निकाले, बालै भएन र बालै हो चाहिँ - के बिग्रीएको छ र, यस्तो हुदै गर्छ भन्न खोज्दा प्रयोग गर्न पर्ने रहेछ र बालै भयो भनेको चाहिँ - ला बिग्रियो, खत्तम नै भयो भन्न खोज्या होला केहि गरि सैलुनमा हाजामले दार्ही काटिरहेको बेला साथीको कल आएर 'बाल' भनियो भने चाहिँ- ए यसको कपाल नी काटीदिन भनेको जस्तो छ, ३० को दार्ही, ५०को कपाल कटिंग अनि २० को फेसियल गरेर १०० रुपियाँ कमाइने भो भन्दै फोनमा कुरा गर्या सुरमा हजामले पछाडी पट्टिको कपाल काटिदिए बल्ल तल्ल घरमा दिनहुँ किचकिच गरेर पालेको कपाल एकछिनमा उड्न पनि सक्छ 




मैले फेसबुक तिर धेरैले शब्द छोट्याएर लेखेको र यदाकदा भनेको पनि सुनेको छु जस्तै - दिदीलाई "दि", दादालाई "दा", बुबालाई "बा", आमालाई "मा" सामान्य नै लाग्छ यो छोटो रुप पनि हुदाँ हुँदै पछि पछि नन्दलाई "द", जेठानलाई "न", ससुरालाई "रा" पनि भनिएला यो सबै त ठिक छ तर "भिनाजु", "जेठाजु" र "आमाजु" संगै भएको बेला "जु" भनेर बोलाए कसलाई बोलाएको होला भनेर अलमल त पर्ने नै छन् मलाई अझ धेरै डर लाग्या कहाँ निर हो भन्दा, बुहारीलाई सासुले "री" भन्ने सम्म त ठिकै हो तर बुहारीले नी सासुलाई "सु" भने चाहिँ सासुहरुलाई लाज त दह्रै लाग्ला 




'फस्ट' भन्ने शब्द लगभग नेपाली नै भैसक्यो, स्कूल/क्याम्पस जस्तै छोरा-छोरीको पढाईको वर्णन देखि अहिले भर्खरै निस्किएको किताबमा माया पिरतीको वर्णन सम्म गर्न भ्याएकै छ 'फस्ट' शब्दले 'मेरो छोरा त क्लासमा फस्ट भयो नी', 'तिमीलाई नै हो मैले फस्ट मन पराएको, तिमी नै मेरो फस्ट र लास्ट', 'तिमीलाई मैले फस्टमा देख्दा नै मेरो दिलकी रानी तिमी भयौ' यति मात्र कहाँ हो र, बानेश्वर तिर पानीको समस्या हुँदा, फस्टमा कसले पानी भर्ने भनेर झगडा त पर्छ 




'हान्ने' भन्ने शब्दले पहिले पहिले 'पिट्ने' वा 'गोद्ने' भन्ने बुझाउने गर्दथ्यो आजकाल अर्कै छ 'हान्ने' भन्ने शब्द आलु जस्तै जुन तरकारीमा पनि मिल्ने खालको भएको छ फोटो हान्ने, एक दुई थाल भात हान्ने, बिहे हान्ने, नयाँ लुगा हान्ने, गितार हान्ने, गोल हान्ने आदि इत्यादी जेमा पनि मिल्छ 'हान्ने' लगाउन 'यसपालीको चुनावमा म संबिधानसभाको उमेद्वार हान्छु' भनेर कुनै नेताले भनेछ भने बुझ्ने युवाले त बुझीहाल्ने भए चुनावमा उठ्न लागेछ भनेर, नत्र प्रचण्ड, झल्लु र सुशीलले जस्तै मैले पनि पिटाइ पो खान्छु भनेर जित्ने पक्का पक्कि भएको नेताले पनि चुनावमा भाग नै नलिन नसक्ला भन्न सकिन्न 




'खेल्ने' शब्दले कुनै खेलमा सहभागी भइ प्रतियोगी हुने भन्ने बुझिन्छ वा अभिनय गर्ने बुझिन्छ आजकाल त च्याट पनि खेल्न मिल्छ, ट्वीट खेल्न मिल्छ ट्विटर तिर, लभ खेल्न मिल्छ केहि समय अघि मलाई एक जना बहिनीले 'आज मेरो स्कूलमा प्यारेन्ट्स डे छ अनि म त आज डान्स खेल्ने हो तपाईं पनि आउनुस् ल भनिन् ' मेरो घर नजिकै को बिद्यालय अनि शनिबारको दिन फुर्सद नै थियो मैले पनि ठिकै छ नी त डान्स कसरी खेल्ने रैछन् भनेर हेर्न जान पर्यो भनेर गएको थिएँ तिनी नानीले नृत्य गरिन अनि मलाइ नृत्य गर्दा पनि व्यायाम हुन्छ त्यसैले खेल्ने भनेको पनि मिल्ने नै रैछ जस्तो लाग्यो तर नेपाली ब्याकरणले दुईवटा क्रियापद लगातार लेख्ने र भन्ने छुट दिदैन र पो मार्यो त




यस्ता थुप्रै मलाई रोचक लागेका 'रड्डीज भयो', 'र्याग हान्यो', 'बाउले ह्यांग गर्यो यार' जस्ता वाक्यांशहरु पनि छन् तर अहिले चाहिँ भात हान्न जान पर्यो 




कतिलाई यो पढेर वाइयात लाग्छ होला, कतिलाई समयको सत्यानास भएको महसुस हुने होला तर मलाई बाल मतलब :) 

प्रतिक्रियाहरु